2026-11-04 09:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती !

सुरेन्द्र भण्डारी/वैशाख १० सुरुङ्गा, झापा | विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को ।

चर्को घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट पर सात समुन्द्रपारि ती पुरुषले बिताएका १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीविकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो । 

उन्नाइस वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी थप धन कमाउन र परिवारलाई सुखसयलसँग पाल्न भन्दै पुनः इराक पुगे । पछि अफगानिस्तानमा रोजगारीमै रहेका बेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, श्रीमतीले उनलाई आठ वर्ष अघि नै ‘डिभोर्स’ दिएकी रहिछिन् । भएको चलअचल सम्पत्ति श्रीमतीकै नाममा थियो । श्रीमान्सँग ‘डिभोर्स’ गरे पनि उनले श्रीमान्लाई त्यो कुरा सुनाइनन् । श्रीमान्ले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो बेला मात्र उनले थाहा पाए श्रीमतीले थाहै नदिई ‘डिभोर्स’ गरेकी रहिछिन् । उनका एक छोरी छन् । उनी आमासँगै बस्दै आएकी छिन् । 

श्रीमतीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिन अघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो । उहाँले भन्नुभयो – श्रीमतीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौं । वास्तबमै उनी पीडित रहेछन् । 

न्यायिक समिति संयोजकसमेत रहनुभएकी प्रसाईंले भन्नुभयो – “यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनु पूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो । उनको त्यही क्रममा मृत्यु भयो ।” 

बिर्तामोड नगरपालिका–९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका बेला श्रीमान्लाई थाहै नदिई श्रीमती अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि श्रीमतीको नाममा रहेछ । बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईंले भन्नुभयो – “श्रीमान्ले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछिन् । उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौं ।” 

“खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौं” – उपप्रमुख प्रसाईंले भन्नुभयो – “मैले भनेका दुईवटा केस प्रतिनिधि घटना मात्रै हुन् । यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।” 

बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक मात्रामा परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झण्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी विदेश जाने पुरुषका छन् । कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन् । उपप्रमुख अधिकारीले भन्नुभयो – वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ । 

दमक नगरपालिकामा श्रीमतीको नाममा जग्गा भएकाहरु धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । “वैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा श्रीमती बेपत्ता बनेका र धन सम्पत्ति समेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौं” – उपप्रमुख अधिकारीले भन्नुभयो । 

श्रीमती विदेश गएपछि नफर्किने र उतै अर्कैसँग विवाह गरेर घरजम गरेका र श्रीमान् श्रीमतीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरी पाउँ भनेर नगरपालिकामा केही उजुरी परेको बताइएको छ । दमक नगरपालिकामा अधिकाँश उजुरी अंश, साँध सिमाना, छोराछोरीले बुबाआमाको हेरचाह नगरेको र पुरुष हिंसाका उजुरी पनि धमाधम परिरहेको न्यायिक समिति संयोजक समेत रहनुभएका अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो – “पुरुष पनि हिंसामा परेर न्याय माग्दै आएकामा दुई जनाको सम्बन्ध विच्छेदको सिफारिश नै गरिसकेका छौं ।” 

साँध सिमानाका बढी उजुरी 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए अनुसार स्थानीय तहले स्थानीयस्तरमा न्यायिक समितिमार्फत विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न शुरु गरेसँगै स्थानीय तहमा उजुरीको चाङ लाग्न थालेको छ । 

अधिकाँश उजुरी साँध सिमाना र श्रीमान् श्रीमतीका विवादका पर्ने गरेको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो –“मेचीनगरमा ९० वटाभन्दा बढी न्यायिक समितिमा उजुरी परेका छन् । त्यसमा अधिकाँश साँध सिमानाका छन् । त्यसपछि श्रीमान् श्रीमतीका विवादका उजुरी छन् ।” 

उपप्रमुख उप्रेतीले भन्नुभयो – “हामीले परेका उजुरीमध्ये ५५ वटामा मेलमिलाप गराइसकेका छौं । ते¥ह वर्षसम्म नमिलेको मुद्दा पनि हामीले मिलायांै । मुद्दा नमिलेर अदालतसम्म जानु पर्ने अवस्था आएको छैन ।” 

मेचीनगरमा मात्रै होइन दमक नगरपालिकामा पनि अंश, साँध सिमाना मिचिएका उजुरी नै बढी परेका छन् । यता, बिर्तामोड नगरपालिकामा पनि जग्गा साँध सिमाना सँगसगै महिला हिंसाका उजुरी बढी पर्ने गरेका छन् । 

कस्ता उजुरी हेर्छ स्थानीय तहले 

न्याय सम्पादनका लागि नेपालको संविधानको धारा १२७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन तहको अदालतको व्यवस्था भए पनि संविधान, अन्य कानून र न्याय मान्य सिद्धान्त बमोजिम नेपालको न्याय सम्बन्धी अधिकार प्रयोगका लागि कानून बमोजिम मुद्दा हेर्न स्थानीयस्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न अन्य निकाय गठन गर्न सकिने व्यवस्था छ । 

सोही अनुसार नेपालको परिवर्तित व्यवस्थामा नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ । हालै प्रमाणीकरण भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँसभा, नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्था छ । 

स्थानीय तहमा रहेका न्यायिक समितिलाई आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी, पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा–दीक्षा नदिएको, वार्षिक २५ लाख रुपैयाँसम्मको बिगो भएको घर वहाल र घर बहाल सुविधा सम्बन्धी विवादको निरुपण गर्ने अधिकार छ । 

त्यसैगरी, अन्य व्यक्तिको घरजग्गा, सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेँसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउँदा कानून बमोजिम छाड्नुपर्ने जग्गा नछोडेको, कसैको स्वामित्वमा भए पनि परापूर्व कालदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, बस्तुभाउ निकाल्ने निकास, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टि स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको र संघीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका विवादहरु स्थानीय तहमा गठित न्यायिक समितिले निरुपण गर्न सक्नेछन् । 

यस बाहेक सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एका हकको जग्गा अर्काले च्यापी मिची वा घुसाई खाएको, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको, पतिपत्नीबीचको सम्बन्ध बिच्छेद, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुनसक्ने कुटपिट, गाली बेइज्जतीसम्बन्धी परेका उजुरीको छानविन गरी विवाद मिलाउने अधिकार स्थानीय तहलाई भएको बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमार राजवशीले बताउनुभयो । 

त्यस्तै, लुटपिट, पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापरवाही गरी अरुलाई असर पारेको, अरुको आवासमा अनधिकृत प्रवेश गरेको, अर्काको हकभोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको, ध्वनि प्रदूषण गरी वा फोहर मैला फाली छिमेकीलाई असर पु¥याएको लगायतका विवादमा न्यायिक समितिले मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्न सक्ने कानूनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट