पर्वत । जिल्लाको तिलाहार गाविसमा रहेको नवजागृत उमाविले स्वर्ण महोत्सवमा आयव्यय सार्वजानिक गरेको छ । विद्यालय ५१ बर्षमा प्रबेश गरेको सुखद अवसरमा आयोजित स्वर्ण महोत्सवको शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आय व्यय सार्वजनिक गरेको हो ।
उक्त महोत्सवबाट ५५ लाख ३७ हजार ७ सय ६४ रुपैँया संकलन भएको र ४२ लाख ३९ हजार ५ सय ३२ रुपैँया खर्च भएको आर्थिक उपसमिति संयोजक हरिबहादुर लामिछानेले आयव्ययको प्रतिबेदन सार्वजानिक गरे । कुल आयबाट १२ लाख ९८ हजार २ सय ३२ रुपैँया बचत रहेको र ११ लाख ९० हजार ६ सय ५४ रुपैँया अझै उठ्नबाँकी रहेको लामिछानेले प्रतिबेदनमा उल्लेख छ ।
महोत्सव पौष ११ गते देखि शुभारम्भ भई विविध कार्यक्रम सञ्चालन गरी फागुन १ गते सम्पन्न भएको थियो । स्वर्ण महोत्सवको आयव्यय सार्वजानिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पारदर्शीता नै हरेक क्षेत्रको ऐना भएको बताएका थिए । उनले गोपनियतालाई निश्चित स्थानमा मात्रै सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक महोत्सव राख्ने सवै क्षेत्रमा पारदर्शीता नै उच्चतम विधि भएको बताएका थिए ।
उनले भव्य रुपमा स्वर्ण महोत्सव सम्पन्न गरेकोमा आयोजकलाई बधाई ज्ञापन गर्दै शैक्षिक गुणस्तरको क्षेत्रमा प्रभावकारी ढंगबाट लाग्न प्रेरित गरेका थिए । मुल आयोजक समितिका संयोजक प्रेम कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक दिनेश शर्माले सञ्चालन गरेका थिए भने विद्यालयका प्रधानध्यापक एवं स्वर्ण महोत्सव मुल आयोजक समितिका सदस्य सचिव विष्णुप्रसाद सुवेदीले प्रस्तुत आय व्यय प्रतिबेदन उपर प्रष्टिकरण मन्तव्य राखेका थिए ।