असार १६, चरिकोट। दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।

जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं को आज बिहान ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ , जीप लामोसाँघु जिरी सडक अन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका– ३ र ४ को बीचमापर्ने सडकबाट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् ।

घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दोलखामा जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते