पढ्न करिब 4 मिनेट लाग्छ

यज्ञराज आङ्देम्बे | साउन १९, दमक | प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरुमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ ।

दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ । सीप तथा व्यावसायिक तालीम परिषद्को सिटिइभिटी० सम्बन्धनमा सञ्चालित स्टाफ नर्स, स्वास्थ्य सहायक, प्राविधिक–एसएलसीतर्फका अनमी, सिएमए, ल्याब असिस्टेन्टजस्ता प्राविधिक विषयमा ७० प्रतिशत हाराहारी महिलामात्र भएको प्रतिष्ठानका अधिकृत प्रदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सिटिइभिटीले शुक्रबार लिएको परीक्षामा ती विषयमा ४४१ जना विद्यार्थी सहभागी भएका छन् ।

स्टाफ नर्सको कोटामा १३४, एचएमा ४६, अनमीमा १२८, ल्याब एसिस्टेन्टमा ५२ जना र ८१ जनाले सिएमएका परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये स्वास्थ्य सहायक एचएमा छ पुरुष र २८ महिला, ल्याबमा दुई पुरुष ५० महिला र सिएमएमा १८ पुरुष र ६३ महिला विद्यार्थीले परीक्षा लेखेको प्रतिष्ठानले जनाएको छ । ती सबै विषयगत विषयमा छात्रवृत्तिसहित ४० जनाको कोटा भएको बताइएको छ ।

स्टाफ नर्समा पुरुषले समेत अध्ययन गर्नचाहे १५ प्रतिशत कोटा निर्धारण गरिने व्यवस्था गरिए पनि दमकको आम्दामा भने त्यो कोटामा पढ्न चाहने नआएको जनाएको छ । प्रतिष्ठानका अधिकृत श्रेष्ठले प्रक्रिया पूरा गरेर स्टाफ नर्समा पनि यो वर्षदेखि पुरुषको लागि छुट्टै कोटाको व्यवस्था गरे पनि त्यस विषय पुरुष विद्यार्थी पढ्न नआएको बताउनुभयो ।

महिलाले मात्र अध्ययन गर्न पाउने सो विषयगत शिक्षामा सरकारले यो वर्षदेखि पुरुषलाई समेत सहभागी गराउने व्यवस्था गरेको थियो । सरकारले ल्याएको सो कार्यक्रमका बारेमा सर्वसाधारणले थाहा नपाएका कारण पनि पुरुष सहभागिता कम भएको हुनसक्ने श्रेष्ठको भनाइ छ ।

आम्दा अस्पतालका मेडिकल सुपरिडेन्टेड डा नवीन ढकालले प्राविधिक विषयतर्फ पुरुषभन्दा महिलाको आर्कषण बढ्दै गएको बताउनुहुन्छ । “पुरुषभन्दा महिलाको प्राविधिक शिक्षामा पहुँच बढको छ” डा ढकालले भन्नुभयो,– “प्राविधिक विषय पढ्नासाथ रोजगारी पाउने भएकाले यसमा पुरुषभन्दा महिलाको आर्कषण देखिएको छ ।” पुरुष रोजगारी तथा अध्ययनका लागि विदेशतर्फ जाने गरेकाले पनि यस्ता प्राविधिक शिक्षामा महिलाको आर्कषण भएको हुनसक्ने डा ढकालको बुझाइ छ ।

दमकको पुरानो सो स्वास्थ्य प्रतिष्ठानले २०५२ सालदेखि नर्सिङ कक्षा सञ्चालन गरिआएको छ भने यो वर्षदेखि तीन वर्षे स्वास्थ्य सहायक ९एचए० विषयमा थप पठपाठन सञ्चालनमा ल्याएको जनाइएको छ ।

यता कमल गाउँपालिका–७ बाह्रघरेमा अवस्थित सरस्वती माविले सञ्चालन गरेको कृषिसम्बन्धी प्राविधिक शिक्षालयमा समेत महिलाको आर्कषण भएको विद्यालयले जनाएको छ । सिटिइभिटीको सम्बन्धनमा सञ्चालित सो विद्यालयमा टि–एसएलसीतर्फको जेटिए ९जुनियर टेक्निकल एसिस्टेन्ट०, भेटेरिनरीसहित बाली विज्ञानतर्फ तीन वर्षे डिप्लोमा अध्ययन भइरहेको विद्यालयका प्रधानाध्यापक दुर्गा सेढाईंले बताउनुभयो ।

विद्यालयले नियमित विषयको पठनपाठनबाहेक २०६७ सालदेखि जेटिए प्राविधिक विषयको पठनपाठनमा सञ्चालनमा छ । प्रअ सेढाईंले कृषि प्राविधिकमा पुरुषभन्दा महिलाको आर्कषण भएको बताउनुहुन्छ । “कृषि प्राविधिक विषयमा पुरुषभन्दा महिलाको आर्कषण छ” प्रअ सेढाइले भन्नुभयो,– “पुरुष कृषि पेशामा आउन चाहँदैनन्, हिजोको परम्परागत सोचले गर्दा सकभर यस्ता विषय पढ्न मनपराउँदैनन् ।”

सिटिइभिटीले लिएको परीक्षामा करीब २२० विद्यार्थी सहभागी थिए । तीमध्ये ८० प्रतिशत महिलानै भएको विद्यालयले जनाएको छ । तीनै विषयमा ४० जनाका दरले कोटा निर्धारण हुने ती विषयमा अध्ययन गर्न आउने अधिकांश महिलासँगै दुर्गम क्षेत्रका विद्यार्थी रहेको विद्यालयका शिक्षक एकराज प्याकुरेलले बताउनुहुन्छ ।

स्थानीयभन्दा अन्यत्र क्षेत्रका विद्यार्थीले यहाँ पढ्न आउने गरेको उहाँले बताउनुभयो । त्यहाँ पूर्वको पाँचथर, ताप्लेजुङदेखि पश्चिमका दाङ, कालीकोट, दैलेख, जाजरकोटसम्मका विद्यार्थी पढ्न आउने गरेको शिक्षक प्याकुरेलले बताउनुभयो ।

साविक मेची अञ्चलमा नै सामुदायिक विद्यालयले शुरु गरेको कृषि प्राविधिक विषयको सो एकमात्र शिक्षालय भएको विद्यालयले जनाएको छ । प्रअ सेढाईंले कृषि विषयमा उत्कृष्ट नतिजाका कारण विद्यालयमा अध्ययन गर्न आउनेको संख्या उच्च देखिएको बताउनुभयो । “कृषि अध्ययनमा विस्तारै अहिले आर्कषण हँुदैगएको छ” प्रअ सेढाईले भन्नुभयो,– “कृषिमा आत्मनिर्भर हुने अवस्था सिर्जना भएको छ, यसले पनि युवामाझ यो विषयले विस्तारै आर्कषण पाएको छ ।” उहाँले शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि आवासीय छात्रावाससमेत उपलब्ध गराउने तयारी गरेको छ ।

छात्र र छात्रा अलगअलग रहने छात्रावास भवन धमाधम निर्माण भइरहेको छ, यो पूरा भएपछि टाढाटाढाबाट आउने विद्यार्थीलाई सुविधा पुग्ने प्रअ सेढाईंले भन्नुभयो । उहाँले कृषि अध्ययन पूरा गरेका धेरै विद्यार्थीले गाउँघरमा स्वरोजगारीका अवसरसमेत प्राप्त गरेका बताउनुभयो । यस विद्यालयबाट उत्पादित जनशक्तिले करीब ७० प्रतिशत स्वरोजगार भएको पाएको विद्यालयको एक अध्ययनले समेत देखाएको प्रअ सेढाईंले दाबी गर्नुभयो ।

दमकसहित जिल्लामा सञ्चालित सिटिइभिटीबाट सम्बन्धन पाएका दुई दर्जन जतिका शिक्षालयमा समेत पुरुषभन्दा महिलाको संख्या धेरै भएको सम्बद्ध शिक्षालयहरुले जनाएका छन् ।