पढ्न करिब 1 मिनेट लाग्छ

साउन २९, रत्ननगर | चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केहीले शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिएको बताइएको छ ।

उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण आज यहाँको जनजीवन प्रभावित भएको छ । लामो दूरीका सवारी साधन चलेका छैनन् भने छोटो दूरीका फाटफुट चलेका छन् । विद्यालय र शैक्षिक संस्था एवं मुख्य बजार तथा कलकारखानासमेत बन्द छ ।

भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम निष्क्रिय टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । प्रहरीले भने सुरक्षा जाँचलाई कडा पारेको जनाइएको छ । जिल्लामा कुनै अप्रिय घटना भने भएको छैन । रासस