सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । वडादसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय बढी सवारी साधनहरु कारबाहीमा परेका छन् ।
असोज २६ गतेदेखि आज दिउँसोसम्मको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका ३ सय ४२ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।
दसैंको समयमा सवारी साधन तथा यात्रुहरुको संख्या धेरै हुने भएकाले हुनसक्ने सवारी दुर्घटनालाई रोक्नलाई ट्राफिक प्रहरीले चेकजाँचलाई बढाएपछि सो सवारी साधनहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
जसमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाएका ७ जना चालकहरु कारबाहीमा परेका छन् । यो समयमा भएको सवारी साधन कारबाहीबाट १ लाख ४५ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक वीरबहादुर थापाले जानकारी दिएका छन् । यो समयमा ठुलो सवारी दुर्घटना नभएको थापाले जानकारी दिए ।