सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवस सप्ताहको सुरु गरेको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर बजारमा प्रभातफेरी समेत आयोजना गरेको छ । बजारका विभिन्न लाइनमा प्रभातफेरी आयोजना गरी आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले कर प्रशासनलाई करको दायरा अझै फराकिलो पर्न सुझाव दिनुभयो ।
उहाँले करदाता र कर प्रशासन बीच सुमधुर सम्बन्ध कायम गर्दैं अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष रिजालले कर कार्यालयले छिटोछरितो सेवा समेत प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत थमलाल भटृराईको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाज सेवी उत्तमकुमार श्रेष्ठ, सशस्त्र वेश क्याम्प तुलसीपुरका प्रमुख राजु शाह, तुलसीपुर नगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्ती, पत्रकार महासंघका केन्द्रीय पार्सद एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, अडिटर एशोसियसनका सदस्य विरेन्द्र महरा, सहकारी संघ दाङका उपाध्यक्ष शेशुराम भण्डारी, महिला अधिकारकर्मी कमला सापकोटा, बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, प्याव्सनका तेजबहादुर केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राप्ती समाचार समितिका अञ्चल प्रमुख नारायणी रजौरेले गर्नुभएको थियो ।