फागुन २५, प्युठान – प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो ।

उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् ।

स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्याधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।

पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन ।

बुवाआमाको झगडाले नावालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमाबुवाबारे सोध्नै हुँदैन । उनीहरु मन थाम्नै सक्दैनन् । बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुवाआमाबारे केही बोल्न सक्दैनन् । यो समाचार केशर रोकाले अन्नपूर्णमा लेखेका छन् ।