२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

२०७५, २७ चैत्र बुधबार ०८:०४

चैत २७, पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ ।

विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो ।

विशेषतः चैतको अन्तिमतिर दुई/चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए ।

नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उनले जानकारी दिए । पोखरा आउने पर्यटक प्रेमप्रकाश मल्लको ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरैछ, पोखरा त साँच्चिको नै पोखरा पो रैछ’ गीतमा भने जस्तै माछापुच्छ्रेले डुबुल्की मारेको फेवातालसहित यहाँका विभिन्न रमणीय दृश्य नियाल्न लालायित बन्ने गरेका छन् ।

पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथलाई लक्षित गरी जाने पर्यटकका कारण यतिखेर उक्त क्षेत्रमा पनि चहलपहल बढेको छ । चैते दशैँ शुरु भएयता मुक्तिनाथ मन्दिरमा दैनिक झण्डै चार पाँच हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

दर्शनार्थीको चापसँगै यहाँका होटेल भरिभराउ भएको स्थानीय समाजसेवी एवं होटल ग्राण्ड साम्बाला रानीपौवा बजार, मुक्तिनाथका सञ्चालक सुरज गुरुङले जानकारी दिए । ‘यतिखेर दैनिक झण्डै एक हजारदेखि एक हजार ५०० जनासम्म दर्शनार्थी रानीपौवा बजारका होटलमा बस्ने गरेका छन्’, उनले भने, ‘धार्मिक पर्यटकका साथै अन्य पर्यटकसमेतले यतिखेर यहाँको चहलपहल बढाएको छ ।’

पर्यटकहरू पोखराबाट हवाई यातायातका साथै स्थलमार्गबाट गाडी चढेर मुस्ताङ पुग्दछन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय मुक्तिनाथ मात्र पुगेर फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ हुँदै नेपाल–चीनबीचको नाका कोराला पुगेर फर्कन्छन् ।

पछिल्ला दिनमा स्थलमार्ग हुँदै दैनिक १५० बढी गाडी मुक्तिनाथ भित्रने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक विष्णु पल्ली मगरले जानकारी दिए । आन्तरिक पर्यटकका कारण जोमसोमका होटेलमा पर्यटक भरिए पछि त्यहाँ नजिकैको थकाली सामुदायिक घरवास, ठिनीमा पनि चहलपहल बढेको घरवासकी सचिव जुमा थकालीले जानकारी दिए ।

उनका अनुसार जोमसोमबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको ठिनीमा यस अघि पाँच घरमा घरवास कार्यक्रम चलाइएकोमा बढ्दो पर्यटकको आगमनसँगै हाल १४ घरमा सञ्चालन भएको छ ।

पोखरामा नयाँ वर्षका क्रममा आउने पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटेल सङ्घले फेवा नयाँ वर्ष महोत्सव गर्दै आएको छ । महोत्सव समेतका कारणले पनि यस समयमा यहाँको पर्यटकीय गतिविधि बढ्ने गरेको छ । फेवा नव वर्ष महोत्सवको १६औँ श्रृङ्खला यस वर्ष पनि यही चैत २९ गतेबाट वैशाख १ गतेसम्म हुने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

तालैतालको शहर पोखरामा पर्यटक लक्षित दुई पाँचतारे होटेल छन् भने १४ तीनतारे होटेल छन् । पोखरामा अन्य सुविधा सम्पन्न होटलको सङ्ख्या झण्डै ६०० रहेको छ । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेकोमा सन् १९८० को दशकदेखि यहाँको पर्यटनले गति लिएको हो ।

पोखराको सुन्दरतालाई विभिन्न गीतमा चित्रण गर्ने क्रममा मिलन लामा र विमाकुमारी दुराको ‘माझी दाइ पोखरा फेवातालको, लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’ गीतमा भने जस्तै पोखरा नवविवाहित जोडी एवं प्रेमी प्रेमिकाका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बन्दै गरेको छ ।

पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै यहाँका सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका वेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण स्थल हुन् । पछिल्ला समयमा पोखरा आसपासका विभिन्न स्थानमा पर्यटकको बसाइ लम्ब्याउने गरी पूर्वाधार निर्माण गरिएको छ ।

पोखरामा पर्यटकको बसाइ लम्ब्याउने सोचका साथ यहाँ नजिकैको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहितका संरचना बनाइँदै छ भने काहुँ डाँडामा बुद्ध मण्डला निर्माणको योजना अघि सारिएको छ । पोखरा बजार सहित यहाँका ताल र हिमाली दृश्यलाई एक साथ अवलोकन गर्न सकिने भरतपोखरीको हुडिकोट लगायतका स्थानको प्रवर्द्धनमा पनि यतिखेर स्थानीय तह क्रियाशील बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै