पर्वत, काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ । धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो ।
नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ’थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए। थोरै खर्चमा धेरै र उत्कृष्ठ सेवा उपलब्ध गराउने उदेश्यले यो सेवा टेलिकमले सुचारु गरेको जनाएको छ ।
यसरी सञ्चालनमा ल्याइएका स्थानहरुमध्ये पर्वतको कुस्मा, बागलुङ जिल्लाको बागलुङ बजार, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, पर्वतको पातीचौर र दुर्लुङ्ग , बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गल, म्याग्दीको पुलाचौर तथा मुस्ताङ जिल्लाको कैसाङ, क्याम्प लगायतका गाविसहरुमा थ्री जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीको यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट हाइ स्पीड इन्टरनेट सर्फिङ तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोडका साथै ५.७ एमबीपीएस सम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ । यसबाट कम्पनीको सेवाका उपभोक्ताहरु थप लाभान्वित हुने अपेक्षा कम्पनीको छ ।
आगामी आवमा धौलागिरीका थप ५० स्थानबाट थ्रिजी सेवा विस्तार गर्ने लक्ष्य लिएको टेलिकमले जनाएको छ । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ जिएसएम विटियसलाई बढाएर आगामी आवमा १ सय २० पु¥याउने टेलिकमले लक्ष्य राखेको छ । काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्री जी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको कम्पनीले जानकारी दिएको छ।