2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

वैशाख २१, बलेवा (रासस) | बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका  यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन ।

खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होटल तथा रेष्टुँरामध्येको एक गुरुङ खाजा घरको छेवैमा गोलमालले चनाचटपट र पानीपुरी बेच्ने गर्नुभएको छ । सवारी साधनमा सवार कतिपयले खट्टोपिरो, अमिलो खोज्ने भएकाले गुरुङले रेष्टुरेण्टको छेवैमा चनाचटपट बेच्दै आउनुभएको हो । सडकमा हुईकिरहेका यात्रीलाई लक्ष गरेर ५९ वर्षीय गुरुङ चनाचटपट भन्दै कराउनुहुन्छ । कतिपयले आवश्यकताले त कतिपयले एक बृद्धले कराइरहेको देखेर सहानुभूति राख्दै चनाचटपट खान पुग्छन् । बेलाबेलामा ठट्टा गर्ने, लोकशैलीका गीत गुनगुनाउने र समसामयिक राजनीतिका कुरा गर्ने गुरुङले उहाँको नजिक पुगेका ग्राहकलाई केही बेर भुलाउनुहुन्छ र चनाचटपटको व्यापार गर्नुहुन्छ ।

बजारबाट ल्याएको चाउचाउ, गाउँकै खुर्सानी, अमिलो, लसुन, प्याजलगायत सामग्री मिश्रण गरेर बनेको चटपट खाने यात्रुले मुख मिठाएर गुरुङको चटपटको मूल्य तिर्छन् र खुशी हुँदै फर्किन्छन् । एक वृद्ध मानिसले सडकछेउमा कराइकराइ के–का लागि चटपट बेचिरहे्को देख्दा यसमा प्रशस्त फाइदा हुने  र सम्पत्ति जोड्नका लागि उहाँले  यसो गरिरहेको हुनसक्ने सोच्लान  । उमेरले तीनबिस काट्नै लागेका वृद्धको हेरचाह गर्ने कोही नभएर  वा दैनिकी गुजार्नका लागि सहयोग गर्ने सन्तान भए पनि कमाउने लालसाले छोडेको छैन भन्नेहरु पनि छन् तर उहाँको कथा र व्यथा भने बेग्लै छ ।

छ वर्ष पहिला दुवै मिर्गौलाले काम गर्न छाडेपछि कयौँ ठाउँमा उपचार गराएर थाक्नुभएका गुरुङले अहिले हप्तामा दुई पटक डायलायसिस गराउनुपर्छ । उमेरमा कमाएको पैसा र पैतृक सम्पत्तिसमेत उपचारमा खर्च भएपछि अहिले अस्पताल जाने गाडी भाडा जुटाउनका लागि उहाँले चटपटको व्यापार गर्दै आउनुभएको हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेकाले देशका ठूला शहरमा पुगेर नाम चलेका अस्पतालमा उपचार गराउँदा सबै सम्पत्ति सकिए पनि गुरुङले हिम्मत भने पटक्कै हार्नुभएको छैन । नियमित डायलायसिस गर्न चिकित्सकले भनेकाले सातामा दुईपटक उहाँ अस्पताल पुग्नुहुन्छ । अस्पतालमा लाग्ने शुल्क सरकारले निःशुल्क गरे पनि हरेक साता लुम्लेबाट पोखरा पुग्ने र फर्कने यातायात खर्च उहाँ आफैँले जुटाउनुपर्छ । पोखराको गण्डकी अस्पतालमा डायलायसिस गराउने उहाँले यातायात खर्च, पोखराको बसाइँमा लाग्ने खर्च र सामान्य घर खर्च चनाचटपटको व्यापारबाट नै जुटाउने गर्नुभएको छ । “भारी बोक्न सक्दिनँ, गह्रौँ काम केही गर्न हुँदैन”, गुरुङले भन्नुभयोे, “खर्च जुटाउनकै लागि सडकको छेउमा बसेको छु ।”

बिरामी परी शरीर कमजोर भएर र लाखौँको सम्पत्ति सकिँदा पनि हिम्मत नहारेको उहाँको भनाइ छ । “आँट्नुपर्छ केही न केही गरे जीवनमा गुजारा चल्छ”, गुरुङ भन्नुहुन्छ, “छ वर्षदेखि उपचार गराइरहेको छु, जसोतसो चलेकै छ ।” मिर्गौलाको उपचार महङ्गो हुने भए पनि पहिले दाजुभाइको सहयोग र अहिले चनाचटपटको व्यापारले आफूलाई सहज बनाएको उहाँले बताउनुभयो ।

सामान्य आर्थिक हैसियत भएका गुरुङको परिवारमा श्रीमतीसहित तीन सन्तान छन् । दुई छोरी र एक छोराले विद्यालयतहको अध्ययन गरिरहेकाले खर्च जुटाउन सहयोग गर्ने अरु कोही नभएको उहाँको भनाइ थियोे । विद्यालय बिदा भएको बेला छोराछोरीले चटपटको व्यापारमा सघाउने गरेको गुरुङले  सुनाउनुभयो । “खर्च कटाएर महीनामा रु १५हजारदेखि २०हजारसम्म र बचाउने गरेको छु”, उहाँले  भन्नुभयो, “प्राण धान्ने उपाय बनेको छ चटपट ।”

उहाँ बिरामी हुनुपूर्व किसानी गर्नुहुन्थ्यो । पुर्खाले आर्जेको जमीनमा खेती किसानी गरेर गुजारा चलेकै बेला बज्रपात आइलागे पनि आफूले हिम्मत नहारेको गुरुङले बताउनुभयो । छिमेकी र दाजुभाइको सहयोगले पहिलो चरणको उपचारमा सघाए पनि राज्यका तहबाट कुनै सहयोग नपाएको उहाँको गुनासो थियो । “मेसिनको शुल्क त तिर्नुपर्दैन तर अस्पताल जानेआउने कसरी गर्नु, हामीजस्ता पीडितको पहिचान गरी सरकारले सुविधा दिनुपर्ने हो”, गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ