पढ्न करिब 1 मिनेट लाग्छ
<p>जेठ ९, झापा | झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । <br></p><p>बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेरा हालेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । </p><p>उहाँका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना भएकाले सो अवधिसम्म स्थानीयवासीलाई घरबाट बाहिर ननिस्कन र हात्तीलाई नजिस्क्याउन भनिएको छ । </p>

