पढ्न करिब 2 मिनेट लाग्छ

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | खोटाङको सप्तेश्वर छितापोखरीको पञ्चमी बजारमा विषयगत दुई दिने शिविर सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको प्रमुख बजार पञ्चमी बजारमा गाउँपालिकाको आयोजनामा शुक्रबारबाट शिविर सुरुवात भएको हो । शिविरको पहिलो दिन विभिन्न विषयगत क्षेत्रका दर्जनौ स्थानीयहरुले सेवा लिएका छन् ।

गाउँपालिकाले प्रत्येक वर्ष गर्दै आएको शिविर अन्तरगत यसवर्षको शिविरको पहिलो दिन स्वास्थ्यतर्फ हाडजोर्नी तथा नशामा १०५, आँखा १३४, वालरोग तथा जनरल फिजिसियन १७६, गाइनो तथा स्त्री रोग ४८, दाँतको ६५ जनागरी ५ सय २८ जनाले उपचार गराएका छन् । अपांग परिचय पत्रतर्फ ‘क’ वर्गमा पाँच महिला, एक पुरुष, ‘ख’ वर्गमा पाँच महिला, दुई पुरुष, ‘ग’ वर्गमा चार महिला दुई पुरुष र ‘घ’ वर्गमा दुई महिला चार पुरुषले अपांग परिचयपत्र पाएका छन् । याम्खाकी मिरा कार्की अधिकारीलाई पहिलो परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै, छितापोखरीकी ज्येष्ठ नागरिक चन्द्रमाया खड्काले पहिलो ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छन् । उनलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले ज्येष्ठ नागरिक परिचयपत्र हस्तान्तरण गरेका थिए । उनीजस्तै अन्य चार जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । ११० जनाले मतदाता नामावली दर्ता र यो समाचार तयार पार्दासम्म १३५ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले बताए ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता, निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता, महिला तथा वालवालिका कार्यालयले ज्येष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण गरिरहेका छन् । चिकित्सक केदार नर सिं केसीको १३ जना टोलीले स्वास्थ्य उपचार दिइरहेका छन् ।