सुनिल कुँवर | विश्व समुदायलाई मानवता, भातृत्व र शान्तिको सन्देश दिएर मानवताको विरुवा रोप्ने, विश्व शान्तिको लागी संयुक्त राष्ट्रसंघको स्थापनामा समेत विशेष पहल गर्ने, नेपाली भाषालाई लिपिबद्ध बनाएर नेपाली भाषाकै पहिलो किताब अक्षरांक शिक्षा लेख्ने मानवतावादी ब्यक्तित्व जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिनु पर्दछ । साथै उनको विचार, शिद्धान्त र योगदानलाई नेपाल र नेपाली जनताले भूल्न मिल्दैन ।
मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह कुशल राजा एवम् महान ब्यक्तित्वका रुपमा चिनिन्छन् । नेपाली भाषाको विकास गर्ने श्रेय केवल जयपृथ्वीलाई नै जान्छ, मानवतावादी शिद्धान्त बोकेर एसियाबाटै विश्व भ्रमण गर्ने मानवतावादी विचारधारा भएका मानवतावादका महान ज्ञाताको रुपमा उनलाई लिइन्छ । मेरो जात मानव, मेरो शिद्धान्त मानवतावाद, भनेर डेढ शताब्दि अगाडी नै विश्व शान्ति र मानवताको विचारधारा अघि सारेका थिए, केवल जयपृथ्वीबहादुर सिंहले । बझांग जिल्लामा बिं.सं १९३४ भाद्र ७ गते बझांगी राजा विक्रमबहादुर सिंह र आमा रुदकुमारी सिंहको कोखबाट उनको जन्म भएको थियो । बझांग जस्तो दुर्गम भेगमा जन्मेका उनले नेपाली जनताको जनजिविकालाई नजिकबाट नियालेर राम्रोसँग बुझेका थिए । मानव जीवनको वास्तविकता केहो ? पिडा के हो ? भन्ने कुरा उनले बाल्यकालमा स्वयम् आफैंले नभोगे पनि त्यहाँका जनताको मर्मलाई उनले बुझेका थिए । नेपालको इतिहासमा शिक्षा क्षेत्रको विकास नै उनले गरेका हुन्, अक्षरांक शिक्षा भन्ने पुस्तक लेखेर नेपाली भाषालाई लिपिबद्ध बनाए, नेपाली भाषाकै पहिलो ब्याकरणका रुपमा प्राकृतिक ब्याकरण लेखेर नेपाली लेख्य भाषाको थालनी उनलेनै गरेका हुन् । नेपालको इतिहासमा शिक्षा र पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदान अविष्मरणीय छ ।
जनतालाई पढाउनु पर्छ, जनता शिक्षित भएन भने समाज विकास हुन सक्दैन, भन्ने महान विचारधारा उनको थियो । पारिवारिक मन-मुटावका कारण उनकी आमा उनलाई लिएर काठमाडौँ आइन्, राजा बिक्रम बहादुर सिंहले आफ्नी जेठि रानीले छोरो लिएर डाँडो काटेपछि भारतको पिथैरागढमा गएर ठकुरीकि छोरीलाई पोते लगाए, आफ्नो पतिको त्यस व्यहोराले रुद्रकुमारी आक्रोशित भइन्, यस्तो चाला-माला देखेर उनले प्रधानमन्त्री विरशम्शेर राणलाई उजुरी गरिन्, राणाले पनि बिक्रमबहादुर सिंहलाई बझांगी राजाबाट बर्खास्त गरी जयपृथ्वीलाई राज्यारोण गराइदिए ।
त्यही क्रममा उनले ८ जना विद्यार्थीलाई काठमाडौँ पढ्न पठाए, तिनिहरु सामान्य शिक्षा आर्जन गरिसके पछि बझांग फर्केर स्वास्थ्य, शिक्षा क्षेत्रका कारिन्दा भए, त्यसपछि पनि उनले त्यहाँका केही जनतालाई पढ्नको निम्ति भारतको अलमोडा पठाए, साथै काठमाडौको नक्सालको सत्यवादी पाठशाला पनि खोले, त्यसैलाई उनले पछि बझांग सारे ।
देव शम्शेरलाइ उनले स्कुल खोल्नु पर्छ र नेपाली भाषामा जनतालाई शिक्षा दिनुपर्छ भनेर उनले फकाए, आफैले किताब लेखेर पठनपाठन सुरु गरे | आफुले दरबार हाइस्कुलमा पढेर उनले म्याट्रिक भारतको कोलकत्ताबाट गरे । १७ बर्षको उमेरमा श्री ३ चन्द्र शम्सेरकि छोरी खगेश्वरीदेविसंग उनको विवाह भयो । जयपृथ्वी बहादुर सिंहले बझांगमा भूमि सुधारको ब्यबस्था गरे,बैज्ञानिक ढंगबाट नापी ब्यबस्था, औषधालय स्थापना गरे, त्यहाँका जनताको जनजिविकामा सुधार ल्याउनका लागी उनले विभिन्न ठाउँमा घोडेटोर गोरेटो काटेर विभिन्न सुधारका कार्यहरु आफ्नो जीवनकाल भरि गरिरहे | उनले भारतमा समेत वकिल भएर काम गरे, त्यसै समयमा उनले राम्रो अंग्रेजि भाषाको ज्ञान हाँसिल गरे, त्यसपछि उनले नेपाली भाषामा पनि किताब छाप्ने निणर्य गरेर भारत बाट नै हाते प्रेस किनेरल्याए । प्रधानमन्त्रि चन्द्र शम्शेर संगै उनी पनि वेलायत भ्रमणमा गए त्यहीँ समयमा उनलाई त्यहाँका राजाहरुले कर्नेलको दर्जा दिए ।अमेरिका र रुसको भ्रमण गर्ने पहिलो नेपाली ब्यक्ति जयपृथ्वीबहादुर सिंह नै थिए ।
एसियाका देशहरुलाई संस्कृतमय बनाउने उनको इच्छा थियो, विश्वको जुनसुकै ठाउँमा भातृत्व, मानवता र शिक्षाको मात्रै सन्देश प्रवाह गर्ने मानवताका महानायक, महामानबको रुपमा उनलाई जीवनको यथार्ततामा बुझ्नुपर्दछ, आदर्श, महान मानवीय गुण र शिक्षा उनको जीवनबाट लिन सक्नुपर्छ | मानवतावादी संस्था खोल्र्ने उनको आकांक्षा थियो त्यसकारण उनले बिश्व भ्रमण गरे । दोश्रो विश्वयुद्ध हुदै गर्दा, शान्ति र भातुत्वको सन्देश लिएर उनी त्यहाँ पुगेर सयुक्त राष्ट्रसंघ खोल्ने कार्यमा बिशेष पहल अथवा महत्वपूर्ण योगदन मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले पुर्याएका थिए । यिनकै प्रभावले संयुत्त राष्ट्र संघको स्थापना भएको थियो । गोरखापत्रको प्रधानसम्पादक भएर नेपाली भाषा प्रतिको मोह र नेपाली राष्ट्रियताको गित गुनगुनाएर जनताको शैक्षक क्षेत्रमा सुधार गरे । यस्ता जयपृथ्वीबहादुर सिुंहले गरेका सुधारहरु राणालाई मन परेनन् र उनलाई जरिवाना सहित नेपलबाट नै निश्कासन गरे, उनको जात च्युत मात्र भएन श्रीमतीलाई पनि उनीबाट छुट्टयाए यस्तो देश र जनताको लागि मरिमेट्ने राजा जयपृथ्वीबहादुर सिंह आफ्नै पारिवारिक जीवनबाट टाढा भएर कठोर र एक्लो जीवन बिताउन बाध्य भए | आफ्ना ससुराको मृत्यु पश्चात मात्र नेपाल प्रवेश उनले गरेका थिए । उनी पितृ भक्ति थिए, त्यसैले चालीस बर्षको उमेरमा राजगद्धि छोडेर बुबालाई पुन: राज्यारोहण गराए । बुबाको मृत्यु भएपछि उनी राजगद्धिमा बसे, केही समयमै फेरी आफ्ना भाइलाई राजा बनाएर उनि भारततिर गए । जयपृथ्वीको योगदान एउटा-एउटा गरेर लिपिबद्ध गर्न थालियो भने, दर्जनौं पुस्तक तयार हुन्छन् । राणा प्रधानमन्त्रिको छोरी ज्वाँइ भएर पनि उनको स्वतन्त्र चिन्तनले गर्दा उनी नेपालमा बस्न सकेनन्, त्यसैले भारतको बंगलोरमा बसेर ह्युमनिष्ट नामक पत्रिका प्रकाशन गरे र मानवतावादी विचारको प्रचारप्रसार भारत, युरोप र अमेरिकासम्म सारे । नेपाली परिवेशमा जयपृथ्वीबहादुर सिंह महा-मानव थिए, शिक्षाप्रेमि, राष्ट्रप्रेमि जयपृथ्वी ६४ बर्षको उमेरमा बि.सं १९९४ असोज ९ गते भारतको ब्यांग्लोरमा स्वगिर्य भए । राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रेत्रमा उनले गरेका योगदानको प्रशंसा गरियो, साथै एसियाका गैतमबुद्ध पछिका दोस्रा ताराको रुपमा चिनिए ।
अँध्यारोबाट उज्यालो तर्फ जान शिक्षाको ठुलो भूमिका हुन्छ, नेपालमा शिक्षाको विकास गर्न पाठशाला मात्र खोलेर पुग्दैन भन्ने उनको धारणा थियो फलस्वरुप उनले आफै पुस्तक लेखन कार्य र सामाग्रि संकलनमा अहो दिन-रात खटिरहे । विश्व समुदायमा भातृत्व, शान्ति र मानवतावादको शिद्धान्त अंगाल्दै आएका जयपृथ्वीबहादुर सिंहको मानवतावादी शिद्धान्तलाई हामीले बुझ्न सकेका छैनौं । त्यतिबेलानै सयुक्त राष्ट्रसंघ जस्तो विश्व शान्तिको कामना गर्ने संस्थाको स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने र विशेष पहल गर्ने मानवतावादी शिद्धान्तका प्रतिपादक जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभमुर्ति घोषणा गरिनु पर्दछ । उनले गरेको योगदानलाई राज्यले र हामी सम्पुर्ण नेपालीले भूल्न मिल्दैन र भुल्नु पनि हुदैन । उनि आज मानवताका प्रेरणाका श्रोत बनेका छन् । यदि जयपृथ्वीबहादुर सिंहले नेपाली भाषामा लीपी र ब्याकरणको विकास नगरेको भए के आज हाम्रो अस्तित्व रहन्थ्यो ? के आज हामी नेपाली भाषाका किताब लेख्न, पढ्न पाउँथ्यौं त ? के आज सरकारी कामकाजको भाषा नेपाली रहन्थो होला त ?
त्यसकारण आज जयपृथ्वीबहादुर सिंह भौतिक रुपमा हामीसंग नभए पनि हामीसंग उनको विचार र शिद्धान्त छ, उनले पुर्याएको योगदान अमर नै छ, जिवित नै छ । नेपाल र नेपालीको शिक्षामा महान योगदान दिने जयपृथ्वीबहादुर सिंहलाई नेपालीलाई शिक्षाको उज्यालो दिन प्रेरित गर्ने व्यक्तित्वको उपाधि स्वरूप 'लाइट अफ नेपाल' घोषित गर्नु उचित हुन्छ । उनको मानवतावादी शिद्धान्त, विश्वभातृत्व, शान्ति र शैक्षिक योगदान सामाजिक सुधार भुल्नु हामीले हुँदैन ।