२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बेनी बजारमा फस्टाउँदै कौसी खेतीः घरको छतमा लटरम्म तरकारी

२०७६, २५ भाद्र बुधबार ०८:२१

भदौ २५, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाउनुभएको छ । 

बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उहाँले डल्ले खुर्सानी कोशेली दिएर पठाउनुहुन्छ । छतमा करीब ४१ वटा बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र यूकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गर्नुभएको छ । विगत डेढदशक नियमित कौसीखेती गर्दै आएकी उहाँलाई श्रीमान्ले समेत नियमित सघाउनु हुन्छ । 

करीब नौ फिटको छतमा फूलसँगै हावापानीका अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आर्कषक देखिएको छ । 

“कौसीखेतीले व्यस्त बनाएको छ, घरमा आवश्यक तरकारी किन्न वाहिर जानुपर्दैन”, राम्जालीले भन्नुभयो । उहाँले सिजन अनुसारका तरकारी खेती गरेर बढी भएको तरकारी बजारमा बेच्नेसमेत गरेको बताउनुभयो । गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल दिने उहाँको भनाइ छ ।

पछिल्लो समय बजारमा डल्ले खुर्सानी प्रति केजी रु ४०० सम्ममा बिक्री हुन थालेपछि पहिलोपटक कोशेली घरमा समेत बिक्री गरेको राजु राम्जालीले बताउनुभयो । उहाँका अनुसार ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरजस्ता रोगको औषधिसमेत हुने भएकाले खेती गरेको बताउनुभयो । “कौसीखेती अर्गानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख, पाउनलाई कोशेलीको रुपमा उपहारसहित होटलमा माग हुने कोरियनलगायत विभिन्न तरकारी घरबाटै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अगामी वर्षदेखि होटलमा विक्री गर्ने उहाँको योजना रहेको छ । 

जिल्लाको मङ्गला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पतीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन् । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी नगरपालिका–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगतरुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

“कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ”, उहाँले भन्नुभयो । “कौसीखेतीका लागि चालू आर्थिक वर्षमा रु डेढ लाख बजेट विनियोजन भएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यो बजेटमा गमला वितरण, निःशुल्क तालीम र प्राविधिक सहयोग दिने योजना रहेको छ ।” कौसीखेतीमार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहँुदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा वर्षेनी कराडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लाष्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करीब रु पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरीद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् । 

हरेक किसिमका तरकारीको पसलै पिच्छे फरक–फरक मूल्यले हैरान बजारवासीको कौसीखेतीमा आर्कषण बढेको छ । अहिले बेनी बजारका अधिकांश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको माग समेत कम भएको स्थानीय तरकारी व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते