रेशमराज रोकाया | कात्तिक ३, हुम्ला | प्राकृतिक सुन्दरता, संस्कृती हेर्न छ भने हुम्लाको नाम्खा गाउँपालिका एक नमुना छनौटको रुपमा लिन सकिने ठाउँ हो । हरेक वर्ष नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । सदा झैं यो वर्ष नाम्खा गाउँपालिकाको महोत्सव हेर्न र त्यहाँको प्रकृती हेर्नको लागि गत केही वर्ष जस्तै यो वर्ष पनि हामी त्यस तर्फ लागियो । बाटोमा पर्ने विभिन्न सुन्दर बस्ती नियाल्दै यात्रा अगाडी बढेको थियो । त्यसै गरी सुन्दर झरनाले यात्राको थकानलाई अति नै अगाडी बढ्न प्रेरित गरेको थियो ।
नाम्खा गाउँपालिकाको आयोजनामा भएको महोत्सवमा २ दिन विभिन्न साँस्कृतिक कार्यक्रमको अवलोकन गर्यौं । तेस्रो दिन हामी एक समूह लिमी उपत्यकामा रहेको प्रसिद्ध लाप्चा उपत्यकातिर लाग्यौं । लिमीका स्थानिय वासिन्दासँगै हामी ट्रिपरमा याल्वाङ्गबाट सल्ली तिर लाग्यौं । विशेष गरी लिमीको लाप्चा भञ्ज्याङ्गबाट मानसरोवर दर्शन गर्नको लागि राम्रो स्थान हो भनेर भिडियो देखेको दृश्य मेरो आफ्नै आँखाले हेर्न धोको थियो । दर्शन गर्ने अभिप्राय रहेको थियो । सोही अनुसार विभिन्न ताल, झरना, भञ्ज्याङ्गको बाटोको दृश्यावलोकन गर्दै अगाडी बढेका थियौं । नाम्खा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले पनि यसरी मज्जा लिने गरेका छन् ।
सल्लीमा खाना खाईसके पछि लिमी उपत्यकातिर सुन्दर स्थानको अवलोकनसँगै हामी अगाडी बढेका थियौं । ३ हजार ४ सय ३८ मिटरको उचाईमा रहेको न्यासिङ्ग खर्कमा एकछिनको बसाई पछि यात्रा जारी रह्यो । न्यासिँह खर्कमा चरीरहेका पशुवस्तुको दृश्य कम्तीको मनमोहक थिएन । चारैतिरका छहरा, हिमताललाई छोडेर ओरालोतिर बहँदै गरेको दृश्य यो मन मस्तिष्कमा गहिरो छाप छोडीरहेको थियो । कच्ची सडकसँगै बहने हिमनदीको सुस्साहटले सबैको मनलाई साँगितिक बनाएको थियो । बुकी घाँसको हरीयालीसँगै उकालो यात्रामा ट्रिपरको यात्राको हल्लाई, उफ्राई जति पिडादायक भए पनि लिमी उपत्यका र लाप्चा उपत्यका पुगेर फर्कने अनि सुन्दर तस्विर, भिडियो खिच्ने यो मनको पहिले देखीको हुटहुटी पुरा हुने भए पछि मन त्यसै फुरुङ्ग रहेको थियो । क्यामेरा र आँखाको नानीमा लिमीको दृश्य यति अमिठ बनेको थियो कि सायद यो भन्दा अगाडी संसारमा कुनै सुन्दर ठाउँ प्रकृतीले नै बनाएकोमा मलाई हुम्ली हुनुमा गर्वको महशुस भएको थियो । घोडा, चौंरी, जुमा र अन्य पशुवस्तुको समूह यत्रतत्र चरन क्षेत्रमा रहेका थिए । जंगली जनावरहरु बाटोमा नै चरीरहेको दृश्यले नाम्खा गाउँपालिका एक सरकारले घोषणा नगरेको संरक्षित क्षेत्र लाग्ने गर्दथ्यो । यो क्षेत्रमा देखिने हरेक सम्पदाले मनलाई चङ्गा बनाउँदै लगेको थियो ।
न्यालु लेक यहाँको सबैभन्दा उचाई र पैदल यात्राको लागि कठिन मानिने गर्दछ । यसको उचाई ४ हजार ५ सय ८० मिटर रहेको छ । यहाँबाट लिमी उपत्यकाको अति नै मनमोहक दृश्य देख्न सकिन्छ अनि सिरान र गोडातिरका हिमालले अति नै सुन्दरता थपेको छ । केही तल रहेको सेलिना ताल भने ४ हजार ५ सय ६० मिटरमा रहेको हेर्न लायकको अर्को ठाउँ हो । आँखाले हेर्न भ्याउन्जेल सम्म हेरेर टोलाउँ जस्तो मनमोहक दृश्य थियो । ठाउँ ठाउँमा छोङ्गसा खोलाको आसपासका झरना सुस्साहट हिमनदी र हिमतालको केश झैं सेताम्य चारैतिरबाट बहिरहेका थिए । फोटो अनि भिडियो धित मरुन्जेल खिच्न अनि सेल्फी खिच्नमा नै मसँगैका यात्रीको ध्यान रहेको थियो । जति अग्लो स्थानमा गयौं त्यती ताल अनि झरनाले स्वागत गरिरहेका थिए । बुकीका घाँसे मैदान पनि विश्यकप फुटबलको मैदान विर्साउने खालका फाँट अग्लो, होचो, खाल्डो विभिन्न आकृतीमा देख्न सकिन्थ्यो । न्यालु लेक जसको उचाई ५ हजार ५ मिटर मसँग रहेको ग्रामिनको जि.पि.एस्. ले देखाएको थियो, त्यहाँ पुग्ने वित्तिकै लिमी उपत्यकाको फाँटले स्वागत गर्ने गर्दछ । हिमनदी र हिमतालका लहरा, छहरा जताततैबाट छरपष्ट, जता मन लाग्यो उतै बहिरहेका । बुकीका फाँटमा जंगली नाउर, फ्याउमुसा र अन्य जनावर निस्फिक्रि कुनै भय विना चरीरहेको दृश्य कम्तीको हेर्न लायक थिएन, आँखालाई जुम नगरीकनै हेर्न सकिने ।
यस्तै दृश्यावलोकन गर्दै तुग्लिङ्गमा हिमनदीको करिब ५० मिटरको नजिकमा रहेको होमस्टे, वर्ष याममा लिमीका वासिन्दाको चौंरी खर्कमा चौंरीको दुध, दही र छुर्पीको स्वाद चाखेको याद गर्दा अहिले पनि मुखमा रस झर्ने गर्दछ । अनि लेकाली उच्च ठाउँमा पाईने लिमीको सिस्नोको कुरै छोडौं । अति स्वादिष्ट अर्गानिक साग, जसको कुनै खेती गर्न आवश्यक छैन, गयो टिप्यो, ल्यायो अनि पकाएर सर्लक्कै खायो । प्राकृतिक साग, कुनै खेती गर्न नै नपर्ने । चिनबाट ल्याएका वियर र जुसको स्वाद पनि त्यो उचाईमा कम्ती मिठो हुने भन्या, खाना रुची नहुनेले त्यहीँ गएमा मोटाएरै आउने सम्भावना मैले देखेको छु । विहानै चौंरी ग्वालाको नित्यकर्म दुध दुहाईएको दृश्य रमाईलो मध्येको एक हो । जता ततै चौंरीको बथान विभिन्न रंग र आकृतीमा चर्दै गरेको दृश्य भव्य देखिने रहेछ ।
करिब १ हजार मिटरको उचाइ चढे पछि कुईगुङ्गा र छलुम्पा हुँदै लाप्चा जाँदै गर्दा फेरी हिमनदी, तालको दृश्य सँगै नाउरका बथानका बथान बाटैभरी चरीरहेको दृश्य हेर्न सकिन्छ । टलक्कै आवाज विनाका नदी (सम्म ठाउँमा बग्ने हुनाले आवाज सुन्न पाईदैन) मस्त वगिरहेको, ताल निलो टल्किरहेको दृश्य अझै पनि मानसपटलमा आउने गर्दछ । हरेक वर्ष तेस्रो मुलुकका पर्यटक यस ठाउँमा दृश्यावलोकनको लागि महिनौं विताउने गर्दछन् । हामी लाप्चा तिरको सयरमा थियौं । त्यहाँ दर्शनको लागि हामीले लिमीको तिन गाउँ मध्ये जाङ्ग नामक गाउँबाट पुजारी पनि निम्त्याएका थियौं । पुजारीले लाप्चाबाट मानसरोवर कैलाश दर्शनसँगै हामीले पुजा आजा गर्ने सोच पनि राखेका थियौं । फाँटै फाँटको बाटोमा हाम्रो सवारी अगाडी बढीरहेको थियो । जब ३ घण्टाको यात्रा पछि लाप्चामा पुग्यौं आँखै अगाडी मानसरोवर र कैलाशको दर्शन भयो । नेपाली भुभाग भन्दा कम उचाईमा रहेको मानसरोवर कैलाश दर्शनको लागि अझ त्यस क्षेत्रको मोटरबाटोलाई सुधार्न सक्यौं भने पर्यटकको घुईँचो बढ्ने देखिएको छ । गाउँपालिका, केन्द्रिय सरकार र प्रदेश सरकारले हरेक वर्ष त्यस क्षेत्रमा लगानी पनि गरिरहेका छन् ।
पुजाआजा पछि अझ मानसरोवर र कैलाश स्पष्ट देख्न सकिएको थियो । जनविश्वास के रहेको छ भने पुजा पछि अझ प्रष्ट देख्न सकिन्छ भन्ने छ । विशेष गरेर असौज र कार्तिकको महिनामा यहाँ दर्शनको लागि अति नै उपयुक्त समय मानिन्छ । अघिपछि बादल र हुस्सुले टम्म छोपिने हुँदात्यती राम्रोसँग दर्शन गर्न नसकिने रहेछ । लाप्चामा भ्यू टावर र दर्शनार्थीको लागि बस्न खानको लागि आश्रय स्थलको निर्माण गर्नको लागि यो वर्ष गाउँपालिकाले बजेट समेत छुट्याएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनु भयो । यसको प्रचार प्रसार गरी आगामी दिनमा आन्तरिक र बाह्य पर्यटकको लागि सहज रुपमा पुग्ने वातावरण मिलाउनको लागि गाउँपालिका लागि परेको उहाँको भनाई रहेको थियो । विशेष गरी हिन्दु धर्म मान्ने दर्शनार्थीको लागि मानसरोवर र कैलाशको दर्शन कति पवित्र रहेको छ भन्ने मैले भनिरहरनु नपर्ला । हाल नाम्खा गाउँपालिकाको हिल्सा नाकाबाट चिनको ताक्लाकोट मार्ग भएर दशौं हजार तिर्थयात्रीले यात्रा गरीरहेको भएता पनि अबको गन्तव्य लिमीको लाप्चा हुने देखिएको छ ।
माथिका तश्वीरहरु: लिमीका सुन्दर दृश्यहरु, लाप्चाबाट मानसरोवर कैलाशको दृश्यावलोकनका केही रमाईला दृश्य । तश्वीर: रेशमराज रोकाया/हुम्ला