2026-09-16 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर गाउँमै उद्यम

कात्तिक ४, बागलुङ | भारतमा ३५ वर्षे जागीरे जीवन बिताउनुभएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।

तीन वर्षअघि गाउँ फर्कनुभएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उहाँ आएपछि हराभरा भएको छ । परम्परागत कृषिले व्यावसायिक रुप पाएको छ । 

एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन शुरु गर्नुभएको हो । ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन् । गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन शुरु गरेको उहाँको भनाइ थियो ।

कुखुरापालनमा रु छ लाख बढी लगानी भएको छ । दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताउनुभयो । “दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ ।” अण्डाबाट मासिक रु. ५५ हजारसम्म कारोबार हुन्छ ।

खर्च कटाएर महीनामा २०/२५ हजारसम्म नाफा निस्कने गरेको छ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उहाँको योजना छ । “सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन्”, उहाँले भन्नुभयो, “तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम गर्यो भनेर प्रशंसा गर्छन् ।”

कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ । ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ । शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाउनुभएको छ । अहिले उहाँकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन् ।

बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ । गोठमा भैँसी र गोरु पनि छ । परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ । खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आउनुभएको छ । उहाँ जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे । श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्नुहुन्थ्यो । छोरीको भारतमै बिहे भइसकेको थियो ।

शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्कनुभयो । दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे । “जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए”, शर्माले भन्नुभयो, “तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो ।” शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बस्नुभएको छ । आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बन्नुभएको छ । 

२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुग्नुभएका उहाँले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गर्नुभएको थियो । बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग