पढ्न करिब 2 मिनेट लाग्छ
<p>कात्तिक २०, घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । </p><p>प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउनुभयो । “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”</p><p>उहाँले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताउनुभयो । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उहाँले भन्नेुभयो, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।” नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।</p><p>नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुग्नुभएको छ । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ । </p>

