2026-09-18 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम, सेवा अस्तव्यस्त

रमेश गिरी । साउन २२, भक्तपुर । भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।

सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयाँैलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो । यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गर्नुभयो ।

मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताउनुभयो । प्रमुख मालपोत अधिकृत भण्डारीले भन्नुभयो, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन् ।”

अहिले पनि कार्यालयमा दैनिक एक हजार १०० भन्दा बढी सेवाग्राहीको भीड रहने गरेको बताउँदै उहाँले कलम किन्ने पैसा नहुने मालपोत कार्यालयले सेवाग्राहीलाई हात धुने र स्यानिटाइजरको व्यवस्था गर्न नसक्ने बताउनुभयो । कोरोनाको जोखिम रोक्ने जिम्मेवारी कार्यालयको नभएको बताउँदै उहाँले सेवाग्राही आफैँले सचेत हुनुपर्ने बताउनुभयो । “म प्रमुख भएरै कलङ्की मालपोत कार्यालयलाई नमूना र उत्कृष्ट बनाएँ, भक्तपुर आएपछि यो पनि बनाउँछु भनेको बजेट छैन, यहाँ केही गर्न सकिन”, प्रमुख भण्डारीले भन्नुभयो, “लेखापढीले फाइल पल्टाउने परम्परागत यो अफिसमा काम पनि परम्परावादी नै छ, यो सिस्टम चेन्ज गर्न गाह्रो छ ।”

सरकारले स्थानीय तहमा मालपोत पठाउने भनेपछि कार्यालयले एक स्थानीय तहका तीन कर्मचारीलाई तालिम दिन थाले पनि यो प्रभावकारी नहुने उहाँको दाबी छ । लामो समयदेखि काम गर्ने मालपोतका कर्मचारी अझै सिक्दै रहेको र लेखापढीको सहयोग लिनुपर्ने परम्परामा स्थानीय तहका कर्मचारीलाई सामान्य तालिमले केही प्रभाव नुहने उहाँको भनाइ छ । कार्यालयका नासु कुलबहादुर बस्नेतले मालपोतका कर्मचारीलाई हेर्ने नजर गलत भएकाले नयाँ कर्मचारी मालपोत सरुवा भएर आउन नचाहने गरेको बताउँदै बिहानैदेखि काम गरे पनि कर्मचारीलाई कुनै सेवा सुविधा नपाउने गरेको अनुगमन टोलीसँग गुनासो गर्नुभयो ।

“राजश्वमा बस्ने कर्मचारीले बिहान आएर काम गर्दा शतप्रतिशत भत्ता पाउने, त्यहीँ काम गर्दा हामीले खाना खाने पैसा पनि नपाउने”, नासु बस्नेतले भन्नुभयो, “यहाँ एउटा कलम, टेप किन्ने पैसा छैन, मास्क, स्यानिटाइजर किन्ने पैसा खै ?, नलुकाइ भन्नै पर्दा हामी चन्दा मागेर चलेका छाँै, स्थानीय तहले पैसा लान्छन् तर खै न सरकारले हेर्छ, न स्थानीय तहले ।” 

यो कार्यालयले अहिले दैनिक करिब १०० रजिस्ट्रेशन, पाँच लगत दाखिल, छ नामसारी, १५ हालसावी, तीन संशोधन र राजश्व सङ्कलनको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयले कूल रु एक अर्ब ७९ करोड चार हजार १११ राजश्व सङ्कलन गरेकामा जग्गा रजिस्ट्रेशनबाट मात्रै रु एक अर्ब पाँच करोड ८१ हजार राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

आव २०७६/७७ मा नगरपालिकामध्ये भक्तपुरलाई रु दुई करोड ८९ लाख ६९ हजार, मध्यपुरथिमिलाई रु ११ करोड ७२ लाख ९७ हजार, सूर्यविनायकलाई १९ करोड ४६ लाख तीन हजार र चाँगुनारायणलाई रु २१ करोड ९२ लाख ९० हजार राजश्व बाँडफाँट गरेको छ । प्रदेशतर्फ रु ३७ करोड ६१ लाख सात हजार राजश्व बाँडफाँट भएको छ ।  अनुगमनपछि जिसस प्रमुख गेलालले कार्यालयमा फ्लेक्स राख्न, हेल्प डेक्समा मान्छे राख्न, कुशल व्यवस्थापन गर्न र बजेट नभए कार्ययोजनासहित नगरपालिकासँग बजेट माग गर्न निर्देशन दिनुभयो ।

नापीको अनुगमन 

जिससको अनुगमन टोलीले नापी कार्यालय भक्तपुरको अनुगमन गर्दा कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार विष्ट कार्यालयमा नभए पनि प्रमुखको कार्यकक्ष, मुख्य सर्वर कम्प्युटर, पङ्खा खुला राखेर दुरुपयोग गरेको पाइएको छ । नापी अधिकृत हरिकृष्ण्ण भुजुले कार्यालय प्रमुख बैठकमा गएको बताए पनि कार्यकक्षमा सबै कुरा खुला रहनु प्रमुखको लापरवाही भएको स्वीकार्नुभयो ।

कार्यालयमा दैनिक १०० सेवाग्राही आउने गरेको बताउँदै फिल्डमा जाने कर्मचारी कम हुँदा जग्गा हालसावी एवं नापी गर्न जान समय लाग्ने गरेको बताउनुभयो । जग्गा कित्ताकाट भने नरोकिएको र नियमानुसार आउनेको कित्ताकाट भइरहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई