पढ्न करिब 2 मिनेट लाग्छ

साउन १२, म्याग्दी । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् ।

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट विगत १० दिनदेखि लगातार रुपमा खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।

केही दिनअघि देखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट आएको पहिराले एक घर र दुई गोठ बगाइसकेको छ । तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँक्रीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् ।

बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दूधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि खानेपानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले जानकारी दिए ।

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।

वनक्षेत्रबाट पाइपमार्फत ल्याइएको पानीको पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिगारिदिएको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले जानकारी दिए । रासस