पढ्न करिब 2 मिनेट लाग्छ

असोज १६, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तौलिहवाले यहाँ रोमिङ अर्थात् घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।

प्रशासनका अनुसार आइतबार र बुधबार बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन् । सोमबार र बिहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार समय तोकिएको छ । जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट पनि सेवा प्रवाह भइरहेको छ ।

तरकारीको बीउ वितरण

अर्घाखाँची– सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण शुरु गरेको छ । कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको बीउ वितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताउनुभयो । उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्र्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गर्नुभयो ।

करेन्ट लागेर युवकको मृत्यु

रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए । रासस