2026-08-31 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अठार वर्ष गोहीसँग

कात्तिक २०, चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न सक्दैन तर चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्षदेखि सहायक संरक्षण अधिकृत पदमा कार्यरत वेदबहादुर खड्काको दैनिकी यसैगरी बित्ने गरेको छ ।

निकुञ्जको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका खड्काको गोहीको अण्डा सङ्कलन गर्ने समयमा ३० प्रतिशत रात नदी किनारको बगरमा बित्ने गर्दछ । निकुञ्ज हुँदै बग्ने. नदीमा फागुनदेखि वैशाखसम्म धेरै समय उहाँले नदीमै अण्डा सङ्कलनमा बिताउनुहुन्छ ।

विसं २०४५ मा सगरमाथा राष्ट्रिय निकुञ्ज निकुञ्जमा रेञ्जर पदबाट सेवा शुरु गर्नुभएका खड्का विसं २०५७ मा चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आउनुभयो । विसं २०६३ मा लाङ्टाङ राष्ट्रिय निकुञ्ज सरुवा भई जानु भए पनि तीन वर्षपछि पुनः यही फर्किनुभयो । 

यहाँ आएदेखि उहाँले निरन्तर गोहीसँग बिताउँदै आउनुभएको छ । गोहीको अण्डा सङ्कलन, अण्डा प्रजनन केन्द्र ल्याएर आवश्यक तापक्रम मिलाई कोरल्नेदेखि बच्चा हुर्काएर खोला नदीमा छोड्नेसम्मको काम उहाँकै नेतृत्वमा हुँदै आएको छ । सँगै कछुवा, गिद्धको प्रजनन केन्द्र पनि उहाँकै नेतृत्वमा छ ।

उहाँले गरेको कामको प्रकृति हेर्दा आङ नै सिरिङ हुने गर्दछ । निकुञ्ज आसपासका नदी किनारमा सामान्य पालको घरमा उहाँले धेरै रात बिताउनुभएको छ । गोही, बाघ, हात्ती, गैँडा, अजिङ्गरजस्ता हिंस्रक जनावरको बासस्थानसँगै उहाँको पनि रात बित्ने गरेको छ । खड्का भन्नुहुन्छ, “मलाई गते बार खासै थाहा हुँदैन । काम कति भयो भन्नेमा मात्रै ध्यान हुन्छ ।”

कहिल्यै आफ्नो बिदा पूरा सदुपयोग नहुने गरेको उहाँको भनाइ छ । “१० महिनापछि दशैँमा घर गएँ” उहाँले भन्नुभयो, “घर जान्छु भन्दाभन्दै नौ महिना भएछ । नौ महिनामा घर जान नहुने प्रचलनअनुसार १० महिनामा बल्ल घर गएँ ।”

 मूल घर सर्लाहीको हरिवन भएका खड्काका श्रीमती र छोराछोरी काठमाडौँमा बस्नुहुन्छ । एक छोरी चिकित्सक, अर्की छोरी बिडिएस अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा पढ्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा कहिलेकाहीँ मात्रै जाँदा छोराछोरीले ‘हाम्रो बुबाको छोराछोरी नै गोही हुन्’ भन्ने गर्दछन् ।”

 परिवारलाई भन्दा सङ्कटापन्न अवस्थामा पुगेको गोहीलाई बढी माया गर्ने खड्का एक पटक नदीमा जाँदा १४ रातसम्म बगरमा सुतेको स्मरण गर्नुहुन्छ । गोहीको अण्डा सङ्कलन गर्न, अवस्था बुझ्न, उनीहरूको आनीबानी अध्ययन गर्न नियमित नदीमा जाने गर्नुहुन्छ । यसरी जाँदा एक जना डुङ्गा चलाउने बोटे मात्रै साथमा हुने गर्दछन् । खड्का स्थानीय माझी बोटे झैँ घुम्दै गर्नुहुन्छ । सँगै लगेको चामल त्यहीँ नदी किनारमा पकाएर उहाँले खाने गर्नुहुन्छ । नदी किनारमा झट्ट हेर्दा उहाँलाई कसैले नेपाल सरकारको अधिकृत भनेर पत्याउनै मुस्किल पर्छ ।

त्यसो त उहाँ अरु समयमा पनि गोहीसँगै हुनुहुन्छ । प्रजनन् केन्द्रमा रहेका ५०० भन्दा बढी साना ठूला गोहीको रेखदेख उहाँले गर्दै आउनुभएको छ । उहाँले यसका अतिरिक्त चरा, बाघ, गैँडा, हात्तीजस्ता जनावरको पनि अध्ययन र अनुसन्धान गर्दै आउनुभएको छ । समय समयमा आफूले गरेको अध्ययनलाई लिपिबद्ध गरेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने गर्नुभएको छ । कतिपय उहाँका लेख नेपालका अनलाइन र पत्रपत्रिकामा पनि पढ्न पाइन्छ ।

रात दिन नभनी घडियाल गोही संरक्षणमा खटिनुभएका खड्काको जागीरको ५८ वर्षे सेवाअवधि आगामी पुसमा सम्पन्न हुँदैछ । उहाँले सम्हाल्दै आउनुभएको यो काममा अब को आउला र कसरी काम गर्ला भन्ने प्रश्न पनि उठ्ने गर्दछ । उहाँले नेपाल सरकारको ‘जागीर’ नभनी संरक्षणमा देखाएको योगदान संरक्षण क्षेत्रका लागि अतुलनीय छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता