२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

२० कार्तिक २०७७, बिहीबार ०५:५६

कात्तिक २०, पशुपतिनगर । सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ किसानले चियाको विकल्प खेती खोज्ने अवस्थामा पुगेका हुन्  । बहुवर्षीय नगदे बालीको रूपमा चिनिएको चियाखेतीबाट  किसान विस्थापित हुने क्रम तीव्र भएको चिया क्षेत्रमै रहेका जानकारहरु बताउँछन् । चिया प्रवद्र्धनका लागि विसं २०५० जेठ २० गते स्थापित भएको चिया तथा कफी विकास बोर्डले समेत चिया उत्पादनमा प्रोत्साहनको कार्यक्रम नल्याउँदा किसानमा वितृष्णा बढ्दै गएको पाइन्छ । बोर्ड गठन भएपछि विसं २०५० देखि २०६० सम्ममा ५४.६, विसं २०६० देखि २०७० सम्म २७ तथा विसं २०७० यता १.९ प्रतिशत मात्रै चियाखेती विस्तार भएको छ ।

पन्ध्र हजारभन्दा बढी किसान सक्रियरूपमा सहभागी भएको चिया क्षेत्रलाई अन्य कृषि बालीका लागि सरकारले सहुलियत ब्याजदरको ऋण उपलब्ध नहुँदा यस क्षेत्रमा संलग्न हजारौँ किसान विस्थापित हुन थालेका छन् । सूर्योदय नगरपालिका–९ मा गोर्खा टि स्टेट सञ्चालन गरिरहनुभएका उद्योगी उदय चापागाईँले पटक–पटक चियासम्बन्धी आयोजना हुने कार्यक्रममा चिया क्षेत्रमा अनुदान दिनुपर्ने माग राख्दै आउनुभएको छ । कृषिमन्त्रीसँगै होस् वा बोर्डका सदस्यसँग उहाँको मागमध्ये ‘चियामा अनुदान’ कहिले छुट्दैन । “चिया उद्योग पहाडी क्षेत्रमा कम्तीमा सातदेखि मुस्किलले आठ महिना र तराईमा कम्तीमा नौदेखि बढीमा १० महिनासम्म मात्रै सञ्चालन हुने हो । बाँकी रहेको समयमा चिया उद्योग ठप्प नै हुन्छ”, चापागाईँ भन्नुहुन्छ, “हाम्रो छिमेकी देश भारतको दार्जिलिङकै चिया क्षेत्रको कुरा गर्ने हो भने त्यहाँ चियाको पुराना बोट उखाल्नका लागि सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको छ । नयाँ बिरुवा रोप्न पनि त्यति नै अनुदान दिइरहेको छ । त्यसैकारण विश्वबजारमा दार्जिलिङ टीको माग राम्रो छ ।” झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा १५ हजारभन्दा बढी किसान चिया उत्पादनमा संलग्न छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा १४ हजार ७३२ चिया बगान छन् ।

झापा सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला हो तर चिया बगानमा काम गर्ने किसानलाई सरकारको सहुलियत दरको ऋण उपलब्ध छैन । विसं २०७५ मा केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको संयुक्त अध्ययनअनुसार पाँच प्रतिशतमात्रै कृषक तथा व्यवसायीले व्यावसायिक चियाखेतीका लागि ऋण लिएका पाइएको छ । दुई संस्था मिलेर चियाखेती हुने प्रमुख १४ जिल्लाका किसानमाझ अध्ययन गरेका थिए । चिया तथा कफी विकास बोर्डले किसानलाई ऋण दिने नभएर उनीहरुको हितमा नीतिगत निर्णयका साथै प्राविधिक सहयोग गर्ने गरेको बोर्डका प्रवक्ता दीपक खनाल बताउनुहुन्छ । उहाँका अनुसार किसानको मागअनुसार नै चियाखेती प्रवद्र्धनमा बोर्डले सहयोग गर्दै आएको छ ।

विसं २०६५ पछि हरियो पत्तीको मूल्य घट्दै गएपछि चियाखेती विस्तारको क्रम रोकिएको हो । चियामा सरकारले प्रोत्साहन गर्ने नीति नल्याउँदा किसान वैकल्पिक पेशा रोज्न बाध्य भएको किसान डम्बर कटुवाल बताउनुहुन्छ । “बीस वर्षदेखि हरियो पत्तीको भाउ नबढ्नु तर उत्पादन खर्च भने बर्सेनि बढ्न थालेपछि चियाबाट विस्थापित हुनुको विकल्प पनि छैन”,  उहाँले भन्नुभयो । बैंक र वित्तीय संस्थाले लगानी नगरेका कारणसमेत चियाखेती विस्तारमा कमी आएको कटुवालको भनाइ छ ।  चियालाई अग्र्यानिक (जैविक) बनाउने प्रक्रिया थालिएपछि रोगको सङ्क्रमण बढी भएको किसानको गुनासो छ । “रासायनिक मल र विषादी हालुञ्जेल चियामा रोग लाग्दैनथ्यो”, चिया किसान रोशन काफ्ले भन्नुहुन्छ, “तर अग्र्यानिकमा गएपछि चियामा घातक रोग देखा परेर चिया बगानै मासिन थालेको छ । सरकारले जैविक मलसमेत उपलब्ध गराएको छैन । खै कसरी अग्र्यानिक चिया बनाएर बेच्नु ।”

रोगले चिया बगान अहिले कालो भएको छ । चिया अग्र्यानिक बनाउन तीन वर्षको प्रक्रिया पार गर्नुपर्छ । यो अवधिभर जैविकबाहेक कुनै रासायनिक मल र विषादी प्रयोग गर्न पाइँदैन । सूर्यादय नगरपालिकालाई तीन वर्षभित्रमा अग्र्यानिक उत्पादनको नगर बनाउने घोषणासँगै किसानले चिया पनि अग्र्यानिक बनाउन थालेका हुन् तर रोगले चिया मासिने डर भएकाले जैविक मल र विषादी सहज बनाउन स्थानीय सरकारसँग किसानले मागसमेत गरेका छन् । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य