सम्राट सिंह, साउन २०, बझाङ । जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिरामी मर्कामा परेका छन । जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिष्णु खतिवडा र डाक्टर मिलन सिलवाल लगायत जिल्ला स्वास्थ्य कार्यालयको टोली भ्रमणमा जाँदा बिरामी मर्कामा परेका हुन ।
जिल्ला अस्पतालमा रुघाखोकी तथा ज्वरोका १ सय पचास भन्दा बढी बिरामी अस्पतालमा भरी भराउ छन । साउन ६ गते नमुना स्वास्थ्य संस्थाहरु अवलोकन गर्न पाल्पा,जनकपुर, बुटवल,इलाम हुँदै दार्जिलिङ र सिक्किम सम्म पुगेका थिए ।
६ गतेदेखि १२ गतेसम्म भ्रमण भएतापनि २० गतेसम्म पनि टोली जिल्ला नर्फकेको जिल्ला अस्पतालका एक कर्मचारीले बताए । उनले भने जिल्ला अस्पतालमा कर्मचारी नहुँदा बिरामी चेकजाँच देखि कार्यालय कामकाजमा समेत असर परेको छ ।
जिल्ला अस्पताल बझाङमा बिरामीको चाप हुँदा निक्साइमनका २ डाक्टर र जिल्ला अस्पताल बझाङका एक जना अहेवले बिरामीको स्वास्थ्य चेकजाँच गरिरहेका छन ।
जिल्लामा भाइरल ज्वरोका बिरामी बढिरहेका बेला अस्पतालमा डाक्टरको कमी हुँदा ३ घण्टा लाइनमा बस्नु परेको बिरामी सुनिता सुनारले बताइन ।
यसरी जिल्ला अस्पताल बझाङका डाक्टरहरु नियमित अस्पतालमा नबस्दा बिरामीले सास्ती खेप्नु परेको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताए । डाक्टरले कहिले मिटिङ, गोष्टी र कहिले भ्रमण गरी जिल्ला बाहिर मात्र बसी बझाङ्गी जनताको स्वास्थ्य माथी खेलवाड गर्ने गरेको उनको भनाइ छ ।
जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा निजि औषधि पसलहरुमा बिरामीको भिँड बढेको छ ।
यता जिल्ला अस्पतालका निमित्त प्रमुख भानुभक्त जोशीले डाक्टर क्षेत्रीय मिटिङमा सहभागी हुन गएकाले जिल्लामा उपस्थिति हुन नसकेको बताए । मिटिङ सकिएपछि डाक्टर छिट्टै जिल्ला फर्किने उनको भनाइ छ ।
फोटो क्याप्सन : जिल्ला अस्पतालमा बिरामीको उपचार गर्दै निक्साइमनका डाक्टर पूर्ण घर्ती