पढ्न करिब 2 मिनेट लाग्छ

चैत २४, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन्,” उहाँले भन्नुभयो, “फिरफिरेलाई घेरेका सबै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।”

वायु प्रदूषणको चरम अवस्थामा बढेका डढेलोले गर्दा लाखांै वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमासमेत नकारात्मक असर पुगेको गुरुङले बताउनुभयो । “केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ,” उहाँले भन्नुभयो, “अनैतिक काम गर्ने युवाका कारण पनि डढेलोका घटना बढेको हुनसक्छ ।”

हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले पनि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । “यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौ,” उहाँले भन्नुभयो, “डढेलो लागेको थाहा पाउने वित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।”

वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताउनुभयो । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौ,” उहाँले भन्नुभयो, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।” यो वर्ष भने अहिलेसम्म जिल्लामा डढेलोको समस्या देखिएको छैन ।

जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६१६ सामुदायिक, ४८५ कबुलियती , ६ धार्मिक वन रहेका छन् ।