पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १३, बाजुरा (रासस)। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ ।

अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।

यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको छ । गाउँभरि डुलेर अरुसँग मागेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्ना बताउनुभयो ।

कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै समस्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरि मागेर पाल्ने गरेको बाजे अर्जुनले बताउनुभयो । “सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्”, उहााँले भन्नुभयो ।

अर्जुनको परिवारले माथिल्लो जातिको काम गरेवापतको अन्नले केही दिनलाई खान पुुगे पनि अहिले भने परिवार पाल्न निकै समस्या भएको बताउनुभयो । वडाध्यक्ष महतले भन्नुभयो, “आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छाँै, यिनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि समस्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।”

नगरपालिकाको महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले त्यस्ता अलपत्र परेका बालबालिकालाई यो आर्थिक वर्षमा प्रतिव्यक्ति रु एक हजार सहयोग गरेको बताउनुभयो । “युनिसेफको सहयोगमा रु एक हजार सहयोग गरेका छौँ, बाँकी नगरपालिकामा कोष स्थापना हुन लागेको छ, त्यसपछि सहयोग गर्न सकिने छ ।”