असार ३, सर्लाही (रासस)। सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो ।

विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उहाँको छोरो दुई/तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उहाँले बताउनुभयो ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताउनुभयो । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा रानाले सुझाव दिनुभयो ।

June 17, 2021
समाज, सर्लाही - SLH
बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती
By साझासवाल
3 मिनेट पढाइ