२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा लोप हुँदै कोदोखेती

२०७८, १८ श्रावण सोमबार ०८:०४

ध्रुवसागर शर्मा । साउन १८, गलेश्वर (रासस)। खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।

धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन् । घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गरामा फलफूलखेती गरेका भए पनि अधिकांशका बारीमा सिरु फुलेको छ । वनमारा र अन्य झारले बारी ढाकेको छ ।

म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभ चिज जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ ज्यामरुककोटका हरि शर्माले बताउनुभयो । करिब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” ५७ वर्षीय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका बलबहादुर शेरपुर्जाको घरमा पनि खेती गर्ने मानिस छैनन् । उहाँको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार गर्छन् भने बुहारीले घरमै पसल । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उहाँले बताउनुभयो । 

“कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?”, उहाँले सम्झिनुभयो, “हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भविराज विकले बताउनुभयो । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताउनुभयो ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । 

चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे बताउनुहुन्छ । 

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ । म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला