गोबरग्यासको प्रयोगले ग्यास अभावको असर परेन

साझासवाल
2 Min Read

Gas

कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै
हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको
छैन ।

केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको
प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् ।

भारतले गरेको
नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि साङ्कोषको यो बस्तीको सबैजसो घरमा भएका
गोबर ग्यास सञ्चालन गर्न थालिएको छ । उनीहरुले बन्द गरेको गोबर ग्यास प्लान्टलाई पनि पुनः सञ्चालनमा
ल्याएको स्थानीयवासी हरि घिमिरेले बताए । यो क्षेत्रमा करिब १५० को सङ्ख्यामा गोबर ग्यास सञ्चालनमा
रहेको छ ।

नाकाबन्दीले गर्दा बजारमा भएको ग्यास अभावको प्रभाव
शून्य रहेको र गाउँवासीलाई ग्यास अभावले कुनै समस्या नपरेको शिव सापकोटाको भनाइ छ ।

पहिले गाईबस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्यास अहिले घरमा
सम्पूर्ण खाना पकाउने काममा प्रयोग हुन थालेको छ । विशेष गरी सदरमुकाम डेरा गरी बस्ने र होटल व्यवसाय
गरी बस्नेहरु खाना पकाउने ग्यासको अभावका कारण मर्कामा परेका छन् ।

घर भाडामा बस्दा घरवालाले कोठामा दाउराको चुलो बाल्न नदिएपछि डेरा गरी सदरमुकाममा पढ्न बसेका
विद्यार्थी र कर्मचारीले समस्या झेल्दै आएको बताएका छन् ।

अहिले
धादिङको सदरमुकाम आसपासका ग्रामीण क्षेत्रमा भने गोबर ग्यासको प्रयोग बढेसँगै सदरमुकामका घरहरुमा भने
दाउराको प्रयोग बढेको छ । धादिङ सदरमुकामका अधिकांश नागरिकले इन्धन बचाउनका लागि पनि दाउरा र बायो
ग्यासको प्रयोग गरेका छन् ।

गोबर ग्यास र दाउरामा खानेकुरा
पकाउँदा केही समय भने बढी नै लाग्ने भए पनि खाना भने स्वादिलो हुने गाउँवासीले बताएका छन् । रासस

Share This Article
Leave a Comment

Leave a Reply