२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन

३० पुष २०७८, शुक्रबार ११:४०

पुस ३०, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो । “बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो”, तिवारीले भन्नुभयो, “तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ ।” बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

“हामीलाई जानकारीमा आएअनुसार बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेको छ, त्यसैले मानिसलाई आक्रमण गर्ने बाघ कुन हो भनेर हामीले क्यामेरा ट्रयापिङका माध्यमबाट अनुगमन गरिरहेका छौँ”, तिवारीले भन्नुभयो, “अनुगमन नै नगरी एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने काम हुनसक्छ, त्यसैले अनुगमनपछि यकिन गरेर बाघ नियन्त्रण हुन्छ ।” बाघ नियन्त्रणमा लिन ‘रिस्क’ भएको भन्दै तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरिसकिएको र उताबाट लिखित आदेश आएपछि बाघ नियन्त्रणको कामलाई अगाडि बढाइने बताउनुभयो । 

“हामीले सोचेजस्तो बाघ एकै ठाउँमा बस्ने प्राणी होइन, बाघ ठूलो क्षेत्रफलमा हिँडिरहन्छ”, तिवारीले भन्नुभयो, “वन क्षेत्रमा दिउँसोमा सुरक्षा सतर्कता अपनाउँदै अनुगमन भइरहेको छ, बाघको ताजा पाइला देखेको अवस्थामा सोहीअनुसार अनुगमन हुन्छ ।” दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो । 

बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका छन् । चौपाया चराउन जङ्गल जानेले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक सातापछि निकुञ्जले बाघ नियन्त्रणमा लिन टोली खटाएको हो । 

बाघले नवलपुरको पहाडी इलाका डाँडाजोर क्षेत्रमा गाईवस्तुसमेत खाएको छ । त्यो क्षेत्रमा पनि बाघ ट्रयापिङका लागि क्यामेरा राखिएको छ । मान्छेलाई आक्रमण गर्ने र गाईवस्तु खाने बाघ एउटै हो कि फरक–फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएकाले बाघ नियन्त्रणमा लिन केही समय लाग्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट नवलपुरको दुम्कीबासमा गत मङ्सिर ११ गते वन हेरालु र यही पुस १६ गते साग टिप्न घर नजिकैको जङ्गल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह