2026-10-21 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा

माघ १८, चितवन | प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । 

चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ । 

अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष भरमा यो सङ्ख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउनुहुन्छ । तीमध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सङ्ख्या निकै बढेको भन्दै उहाँले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको बताउनुभयो । 

बच्चा जन्माइसकेका आमाहरु ठाउँ अभावमा भुइँमा बस्नुपर्ने बाध्यता रहेको छ । पोख्रेल भन्नुहुन्छ, “अहिले दैनिक १०÷१५ जना भुइँमा सुत्न बाध्य छन् ।” अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।” चाहेर पनि शय्यामा राख्न नसकिएको उहाँको भनाइ छ । 

शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरुलाई भुइँमा राखिन्छ । शल्यक्रिया गरेकाहरुलाई सात/आठ दिनसम्म राख्नुपर्ने हुँदा शय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्नुहुन्छ । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा पौडेलले भन्नुभयो, “अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।” अस्पतालले प्रसूति सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पौडेलले थप्नुभयो, “सङ्घीय अस्पताल भएकाले चितवनसहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूति सेवाको केन्द्र बनेको छ ।” अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शय्या र थप गर्दै लैजाने गरी प्रसूति गृह निर्माण गर्न लागिएको उहाँको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुइँमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउनुहुन्छ । उहाँको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उहाँले भन्नुभयो, “प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।” भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क रहेको छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिडका कारण प्रसूति गराउनेको सङ्ख्या घटेको थियो । 

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० शय्या छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ