2026-06-16 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विवाह महिलाको नाम र थर दुवै परिवर्तन : माइतीकै गाउँको नामले बोलाइन्छ

फागुन १३, मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उहाँलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर ससुराली अर्थात् श्रीमान्को घर गएपछि सबैले उहाँलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालियो । 

सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन । जब उहाँको नामको साट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उहाँले बताउनुभयो । “सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गथ्र्यो । शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ”, उहाँले भन्नुभयो, “विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ ।” 

मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मालादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ तर अहिलेसम्म उहाँको वास्तविक नामबाट कसैले चिन्दैन । ‘बरहथवावाली’ को नामबाट नै उहाँलाई सबैले चिनिने गरेको छ । “निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन”, उहाँले भन्नुभयो, “बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिनिनेगरिन्छ ।” 

उहाँले वर्षौंदेखि मलाई सबैले बरहथवावाली भनेर नै बोलाउँछन् भन्दै अब मलाई आफ्नो नाम बिर्सेजस्तो लाग्ने गरेको बताउनुभयो । सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मालादेवी गुप्ता लेखिन्छ । अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै  हो । यसबाटै मेरो पहिचान भएको छ । “श्रीमान्ले समेत बरहथवावाली भनेर नै बोलाउने गरिन्छ”, उहाँले भन्नुभयो, “विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गरिन्छ । अहिलेसम्म मेरो श्रीमान्ले पनि मलाई नाम लिएर बोलाएको छैन ।” 

सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन् । मधेसीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उहाँको माइतीको गाउँठाउँको नाम हो र यसै नामले उहाँलाई सबैले चिनिन्छ । फलस्वरुप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन । विवाहित महिलालाई समाज र परिवारले उहाँको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो । त्यसैले मधेसमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान् र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताउनुभयो । मेरो कार्यालयको काम विशेषले मलाई बाहिरका व्यक्तिले मेरो वास्तविक नामले चिनिन्छ तर आफ्नै ससुराली घरको व्यक्ति र त्यहाँका समाजले मलाई ‘सीतापुरवाली’ भनेर नै चिनिने र बोलाउने गरेको उहाँको भनाइ छ । “आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौँ तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमान्को नामले चिनिन्छ”, उहाँले भन्नुभयो, “समाजले महिलाको नामलाई मान्यता दिएको छैन ।” बाहिर मेरो कामको अधारमा नाम त छ तर महिला भएकै कारणले मेरो नामले ससुरालीमा पहिचान पाएको छैन, उहाँको भनाइ छ ।  

आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उहाँले बताउनुभयो । नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताउनुभयो । “महिलाको पहिचानमै यहाँ विभेद भएको छ । आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरुले व्यक्त गर्न सकिराखेकोे छैन”, उहाँले भन्नुभयो, “पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन् ।” 

पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाम मात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताउनुभयो । विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमान्को थरसँगै जोडिने गरेको छ । यो सबै महिला हिंसा र विभेदकै स्वरुप रहेको उहाँको भनाइ छ । महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको उहाँले बताउनुभयो । गर्भमा छोरी छ भने कतिपयले भ्रुण हत्या नै गर्छ । कतिपयले त्यही अवस्थादेखि विभेद सुरु गर्ने गरेको अधिकारकर्मी कार्कीको भनाइ छ । गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने गरिन्छ । छोरी भए थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरु हुनेगरेको छ । 

विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थाल्यो तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउन थालिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेत्री लक्ष्मीसिंह दनुवारले बताउनुभयो । अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरिएको उहाँको भनाइ छ । समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको नेत्री सिंहले बताउनुभयो । 

मुलुकी देवानी संहिता–२०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ । कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । त्यस्तै विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ । सेवानिवृत्त शिक्षक रजनीकान्त झाले परम्परागतरुपमा नै विवाहित महिलालाई उहाँको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा  अपमानित गरेको भनाइ गलत भएको धारणा व्यक्त गर्नुभयो । “विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ”, उहाँले भन्नुभयो, “समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ ।” तर पनि पुरुष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिँदैन। जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौँ महिलालाई अस्तित्वविहीन बनाइन्छ, उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ