भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल निकै बढिरहेको छ ।
तिज नजिकै गर्दा दाजुभाई आफ्ना दिदीबहिनी लिनको लाई हतार गरिरहेका छन् भने बजारमा दरखानेहरुको भीड लागेको छ । मोदीबेणी बृद्धा आश्रममा बसेका बृद्धबृद्धाहरुको गुठीमा न त तिजको रौनकनै थियो न त कुनै पर्वको । तर मिलन क्लबले जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरुलाई दर खुवाएर हर्षित बनाएको छ । शनिवार क्लबले मोदीबेणी दिव्यधाममा एक कार्यक्रमको आयोजना गरी १८ जना बृद्धबृद्धा तथा साधुसन्तलाई सम्मान सहित दर खुवाएको हो ।
मोदीबेणीमा रहेका बृद्धबृद्धालाई क्लबले सरसफाइका सामाग्री तथा फलफुल र नगद सहयोग गरेको थियो । क्लबले तिजको बेलामा दरमात्रै नखुवाई नगद र सरसफाइका सामाग्री वितरण गरेपछि बृद्धाबृद्धाहरु हर्षित मुद्रामा देखिन्थे । घरपरिवार त्यागेर तथा कोहि छोराबुहारीका कारण घर छोड्न बाध्यपारिका बृद्धबृद्धाहरुले आफुहरुले यसरी तिजमा दरखाने अबसर जुट्ने नसोचेको तर क्बलले गरेको कार्यप्र्रति आफुहरु खुसी भएको बताए ।
जेष्ठ नागरिक हरिप्रसाद आचार्यको आथित्यतामा संचालन भएको कार्यक्रममा बोल्दै आचार्यले युवाहरुले जेष्ठ नागरिकलाई सम्मान सहित मोदीबेणीमा रहेका बृद्धाबृद्धाहरुसँग माया र ममता साटेकोमा खुसी व्यक्त गरे । उनले क्लबले गरेको कार्यप्रति खुसि व्यक्त गर्दै प्रशंसा समेत गरे । क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष टंकनाथ लामिछानेले गरेका थिए । कार्यक्रममा धार्मिक तथा पर्यटकीय संस्था मोदीबेणी दिव्यधामका अध्यक्ष गोपाल दास बैरागी, संस्थामा सदस्य भुवन विश्वकर्मा लगाएतले बोलेका थिए । भने, कार्यक्रमको संचालन क्लबका महासचिव विनोद वि. पोख्रेलले गरेका थिए ।