2026-11-02 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जब टिपर यात्रुवाहक बस ठोक्कियो:

चैत्र ३०, तनहुँ | तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो ।  

सडकमा दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली दुर्घटनास्थलमा तत्कालै पुग्यो । दुर्घटनास्थल पुगेसँगै प्रहरीले सबैभन्दा पहिले टिपर चालकलाई नियन्त्रणमा लियो । प्रहरीसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँको टोली पनि दुर्घटनास्थलमा पुग्यो । प्रहरी र रेडक्रसको टोलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार थाल्यो । सडक छेउमा त्रिपाल विछ्याएर उद्धार गरेकालाई राखियो । घाइतेहरू ऐया र आथ्थु गर्दै चिच्याउँदै थिए । त्रिपालमै राखेर घाइतेहरूको पूर्व प्राथमिक उपचार गरियो । स्थानीय तीनवटा एम्बुलेन्सको सहयोगमा घाईतेहरूलाई दुलेगौँडा बजारमा रहेको तनहुँ सेवा हस्पिटलमा पुर्‍याइयो ।

हस्पिटलमा ल्याएपछि घाइतेमध्ये दुई जनाको मृत्यु भयो । चारजना गम्भीर घाइते भए ।  पाँचजना सामान्य घाइते भए । तिमध्ये दुई जना सामान्य घाइते उपचारपश्चात डिस्चार्ज भए । दुर्घटनामा घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजानीको प्रयास गरे । प्रहरी प्रशासन मुर्दावादको नारासमेत लगायो केहीबेर आक्रोशित भिडले । प्रहरीमाथि हातपातसमेत भयो । प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको वार्तामा घाइते र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने सहमति भयो । त्यसपछि क्रेनको सहायताले टिपरलाई हटाएर सडक सुचारु गरियो ।

बुधबार दिउँसो ठुलढुंगामा भएको यो दुर्घटना वास्तविक हाेइन, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दृश्य थियो । वार्षिक कार्य योजनाअनुसार अभ्यास गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । बर्सेनि एक पटक प्रदेशको कुनै एक जिल्लामा यस्तै नमुना अभ्यास गर्दै आइरहेको उनले बताए । सर्वसाधरणमा सचेतना फैलाउनलाई नमुना अभ्यास गर्ने गरेको उनले बताए ।

‘दुर्घटनामा उद्धार गर्नलाई फिल्डमा पर्ने समस्याहरू, हामीले गर्नपर्ने समन्वयको पाटो र के कस्ता समस्याहरू रहन्छन् भनेर नियमन निकायलाई समेत सहभागी गराएर जानकारी गराउँछौँ । सर्वसाधरणलाई पनि दुर्घटना हुँदा कसरी उद्धार गरिन्छ ? के-के साधान र स्रोतको प्रयोग गरिन्छ भनेर देखाउनलाई नमुना अभ्यास हुन्छ’, उनले भने ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विकले दुर्घटनामा घाइतेको उद्धारमा प्रहरीले खेल्ने भूमिका प्रशंसनीय रहेको बताए । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको उनले बताए । सवारी चालकले सवारी नियमको पालन नगर्दा अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘मान्छेको जीवन सवारीमा चढेपछि चालकको हातमा हुन्छ । चालकले बडो जिम्मेवारीपूर्ण ढंगबाट चलाउनुपर्छ’, उनले अगाडि थप्दै भने, ‘कहिलेकाहिँ चालकले मदिरा सेवन गरेर चलाइदिने, जिम्मेवार नभइकन हेलचक्रयाइँ गरेर चलाइदिँदा सवारी दुर्घटनामा थुप्रैको ज्यान गएको छ ।’ 

सवारी चालकलाई लाइसेन्स लिँदाको बखतमा परीक्षा लिएझैँ बेलाबखतमा तालिम दिन जरुरत रहेको मन्त्री विकले औँल्याए । उनले सवारीको गति जति कम भए दुर्घटनाको सम्भावना उति नै कम हुने उल्लेख गरे । दुर्घटना भएपछि उद्धारमा प्रहरीसँगै सर्वसाधरणले पनि भूमिका खेल्नुपर्ने मन्त्री विकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते