पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १३, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

'म आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु' भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताइन् । उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन् ।

स्वेता हाल स्नातक तहमा अध्ययनरत छन् । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । सिद्धार्थनगर-६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार स्वेताले उम्मेदवारी दिएको बताइन् ।