पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १२, बुटवल | गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले 'क्लिन स्वीप' गरेको हो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस पराजित भएको हो ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी भएका छन् ।

पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका थिए ।

यो वडामा तीन हजार ४६८ मत खसेको थियो । वडाध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले एक हजार ६१५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले एक हजार ४२६ मत पाए ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरू महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् ।