असार १७, सुर्खेत | वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए पनि यहाँका नागरिक वर्षायाममा ढुक्कले निदाउन पाउँदैनन् । प्रदेशको राजधानी मानिएको वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ ।

नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ । यसपटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ । मनसुनी विपद्ले वर्षेनी जनधनको क्षति गर्दै आए पनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय नै उदासीन छन् ।

जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा वीरेन्द्रनगर नगरपालिका बेखबर जस्तै बनेको छ । मापदण्डविपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । उपत्यकाको खोर्के, इत्राम र नेवारे खोला नै च्यापेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख (इन्जिनियर) हरि केसी बताउँछन् ।

नियामक निकायको वेवास्ताका कारण वीरेन्द्रनगरमा वर्षेनी जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन भने गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् ।

खोला आसपास भौतिक संरचना बनाउँदा नगरबासी र नगरपालिका दुवैले ख्याल गरिएको पाइँदैन । वीरेन्द्रनगर-३ मा मात्रै पाँच सय घरधुुरी बाढी र कटानको उच्च जोखिममा छन् । वडाध्यक्ष विनोद सिंह विष्टले खोला किनारमा बनेका अधिकांश घरहरूमा विपद्को जोखिम रहेको बताए । ‘चाइना पुुलदेखि उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घरहरूमा विपद्को खतरा छ,’ उनले भने, ‘स्थानीयलाई खोला क्षेत्र छोडेर संरचना बनाउन भनिए पनि अटेरी गरिरहेका छन् ।’ निर्माण मापदण्डमा २० मिटर जग्गा खोलालाई छोड्नुपर्ने भएपनि त्यसो हुुन नसकेको उनी बताउँछन् ।

वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र भएर दक्षिण बग्ने खोर्के र इत्राम खोलामा वर्षायाममा कटान हुन्छ । उपत्यकाको तल्लो तटीय क्षेत्रमा डुवानको उस्तै समस्या छ । भरपर्दो ढल व्यवस्थापन नहुनु तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा दक्षिणी भूभागमा वर्षैपिच्छे डुवान हुने गरेको हो ।

निकास खोलामा तटबन्धन निर्माणले पूर्णता पाएन

वीरेन्द्रनगर उपत्यकाको पानी बाहिरिने एक मात्र स्थान वडा नम्बर ९ स्थित निकास खोला हो । उक्त ठाउँमा व्यवस्थित तटबन्ध नहुँदा आसपासका बासिन्दा डुवान र कटानको जोखिम व्यहोर्न बाध्य छन् । दुई वर्षअघिदेखि निकास खोला तटबन्ध निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । बाढी र डुवानको दीर्घकालीन समस्या हल गर्न निकास खोलामा तटबन्धन निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ बाट टेन्डरमार्फत काम अघि बढाइएको थियो । निवर्तमान वडाध्यक्ष सुरेश मानन्धरले बजेट अभाव हुँदा बाँकी काम पूरा हुन नसकेको बताए । उनका अनुसार हालसम्म पाँच सय मिटरमा मात्रै तटबन्धको काम भएको छ ।

वीरेन्द्रनगर-३ का वडाध्यक्ष विष्टले वडासँग समन्वय नै नगरी मापदण्ड मिचेर मनपरी रूपमा घर निर्माण भइरहेको बताए । ‘जोखिम बढ्दो देखेपछि नागरिकलाई कसरी सुुरक्षित गर्न सकिन्छ भनेर अहिले केही काम अघि बढाइएको छ,’ उनले भने, ‘कार्यपालिकाको बैठकमा समेत यसबारे कुुरा उठेको छ ।’ वडा नम्बर ३ मा अब बन्ने घरका लागि वडा र नगरपालिका दुवैको अनिवार्य स्वीकृति लिनुुपर्ने व्यवस्थाका लागि पहल भइरहेको उनले बताए । विपद् जोखिम न्यूनीकरण गर्ने सवालमा वडासँगै नगरपालिकाले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।

खोर्के खोलासहित तटबन्धन नहुँदा उपत्यकाभित्रका खोला किनाराका धेरैजसो बस्तीहरू बाढीको जोखिममा छन् । उपत्यकाका खोलामा २०७१ मा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । उतिबेला बगरमा परिणत भएका बस्तीहरू फेरि भरिएका छन् ।

खोला किनारामा घर बनाउनु रहर नभएर बाध्यता भएको वीरेन्द्रनगर-४ का रूपसिंह विक बताउँछन् । नगरपालिकाले निर्माण गरेका सामान्य तटबन्धन बर्खाको भेलसँगै जाने भएकाले जोखिम रहिरहने उनको भनाइ छ । खोला आसपासका बासिन्दाहरू भने विपद् जोखिम कम गर्न नगरपालिकाले निर्माण गरेका संरचना दिगो नभएको गुनासो गर्दै आएका छन् ।