असार १९, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो ।

हाल लामाचौर र सल्लेरीबाट जाने गरिए पनि यो पदमार्ग निर्माणपछि लामाचौरको छोटो पदमार्गमा प्रायः जिल्लाका पर्यटकीय स्थानहरूमा अवलोकन गर्न सकिने भएको छ ।

पर्यटकीय पदमार्ग स्थल सञ्चालन भएको स्थान लामाचौरसम्म पुग्न सदरमुकाम गमगढी बजारबाट करिब डेट घण्टा लाग्छ । लामाचौरबाट करिब २० देखि ३० मिनेटको पैदल यात्राले रारा ताल पुग्न सकिने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

सदरमुकाम गमगढी बजारदेखि रारा तालको काख सल्लेरी र लामाचौरसम्म सवारी साधनमा जान पनि सकिन्छ । तर, पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।

रारा तालमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट यहाँका पर्यटकलाई आकर्षित गर्न सकेमा रारा ताल र जिल्लाको प्रचार हुने र बर्सेनि हजारौँ पर्यटकले रारा तालको अवलोकन गर्ने उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए ।

छायाँनाथ रारा नगरपालिकाको तुम हुँदै लामाचौर जाने दूरी छोटो पर्छ । आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ । यो पदमार्गलाई थप प्रचार प्रसार गर्न र आवश्यकअनुसारको बजेट विनियोजन गरिने छायाँनाथ रारा नगरपालिका–३ का वडा अध्यक्ष नन्दबहादुर रावलले जानकारी दिए ।

नयाँ पदमार्ग निर्माणपछि लामाचौरका होटेल, पर्यटनको संख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।

पर्यटन विकास, स्थानीयको आयआर्जनलाई पहिलो प्राथमिकतामा राखेर यो पर्यटन पदमार्गले पनि जोड दिने रारा राष्ट्रिय निकुञ्जका वार्डेन बद्रि विनोद दाहालले बताए ।

रारा जान अब छोटो पदमार्ग
Leave a Comment