एजेन्सी | भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।
आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ ।
घटनाको जानकारी पाएका शिक्षा अधिकारी सुरेन्द्र हेबरामले शिक्षकहरूसँग कुराकानी गरेका छन् । घटनास्थलमा पुग्दा विद्यार्थीहरूले प्राक्टिकलमा एकदमै कम अंक दिइएको अनि शिक्षकहरूबाट उचित प्रतिक्रिया नपाइएको बताए भनी हेबरामले जानकारी दिए ।
कुटाइ खानेमध्येका एक शिक्षक कुमार सुमनले बताए, ‘विद्यार्थीहरूले हामीलाई बैठक गर्ने बहानामा बोलाए । आफूहरूको रिजल्ट बिग्रिएको गुनासो उनीहरूले गरे । उनीहरूको प्राक्टिकलको अंक रिजल्टमा जोडिएको रहेनछ । त्यो काम प्रधानाध्यापकले गर्नुपर्ने हो । हाम्रो यसमा केही दोष छैन ।’