भदौ २८, दाङ । चट्याङ लागेर आज दाङमा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
दाङ बाघमारे– ३ पेघास्थित जुद्धकुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार केसीको छाती, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङबाट मृतक केसीका ३९ वर्षीया आमा जुद्धकुमारी र १८ वर्षीया दिदी रेणुका घाइते भएका छन् । रासस