असोज २६, काठमाडौं । भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ । भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।
यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले एक दम्पती भगवल सिंह र लैलासँग शफी उर्फ रशिदलाई हिरासतमा लिएको छ र यी तीनजनामाथि भएको सोधपुछमा प्रहरीले यसबारे चकित पारिदिने जानकारी पाएको छ । कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ‘पद्मको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो। जबकि अर्की महिलाको जूनमा हत्या भएको थियो ।
यी तिनै जनाले महिलालाई बर्बर ढङ्गले हत्या गरेर उनीहरुको शवलाई आफ्नै घरमा गाढे । अभियुक्तले आफ्नो सबै अपराध स्वीकार गरे र हामीले उनीहरुको बयानलाई पुष्टि गरेका छौँ ।’ हालसम्म प्राप्त जानकारीका अनुसार शफी र भगवल सिंह आर्थिक समस्यासँग जुधिरहेका थिए ।
भगवल सिंहलाई आर्थिक संकटसँग जुध्न मानव बलि दि सल्लाह दिइयो, जसलाई शफीले प्रोत्साहित गरे । यसपछि शफीले केही पैसाको बदलामा महिलालाई ल्याए ।
शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए । प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ ।