किरण भट्टराई/भदौ ३०, काठमाडौँ । शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... किरण भट्टराई/भदौ ३०, काठमाडौँ । शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुप"/>
२ पुष २०८२, बुधबार
काठमाडौँ - KTM

त्रिपालमुनिबाटै राजधानीको सुरक्षा !

३० भाद्र २०७३, बिहीबार ०९:५२

किरण भट्टराई/भदौ ३०, काठमाडौँ । शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ ।

 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको जग्गामा ती कार्यालयले अस्थायी संरचना बनाएर काम गर्दै आएका छन् । भूकम्पका बेला परिसरको ब्यारेक भत्कँदा एक जना प्रहरी जवानको समेत ज्यान गएको थियो ।

हनुमानढोकाको पुरानो कार्यालय थोरै क्षेत्रफल र सवारीसाधन चलाउन नमिल्ने स्थानमा रहेकाले अर्को स्थानमा जग्गा खोज्नुपर्ने काठमाडौँ प्रहरीको बाध्यता रहेको छ ।

 भूकम्पपछि तात्कालिक रुपमा केही समयका लागि भन्दै टेकुमा बसेको परिसर र महाशाखाले एक वर्ष चार महिना बित्दा समेत भवन बनाउने प्रक्रिया सुरु गर्नु त कता हो कता  अहिलेसम्म घर बनाउनका लागि जग्गाको समेत टुङ्गो लगाउन सकेको छैन । प्रहरीले अहिलेसम्म बसेको भाडा समेत नतिरेको नेट्रेलिका महाप्रबन्धक सत्यनारायण महतोले बताए ।

 उनले भने, “हामीले प्रति महिना रु १५ लाखका दरले १४ महिनाको भाडा तिर्न भनेर प्रहरीलाई पत्र लेखेका थियौं । महिनौं बितिसक्यो अझै रकम पाएका छैनौं ।”

नेट्रेलिको पक्की भवनमा परिसरको कार्यालय राखिएपनि महाशाखाको कार्यालय भने सोही जग्गामा बिहे भोजका लागि बनाइएको पार्टी प्यालेसको बरण्डामा राखिएको छ । बिहे भोजमा ठूलो आवाजमा गीत, सङ्गीत बज्ने हुँदा त्यहाँ काम गर्ने वातावरण नै नहुने गरेको प्रहरी बताउँछन् । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खुला स्थान भएकाले कतिपय अवस्थामा पीडितहरुले आफ्नो पीडा समेत भन्न धक मान्ने तथा कैदीको बयान लिन समेत समस्या पर्ने गरेको बताए ।

मुलुकको राजधानीको सुरक्षा आफैंमा चुनौतीपूर्ण कार्य हो । कुनै घटना भइहाले त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउने गर्छ । जाडोमा कठ्याङ्ग्रिएर, गर्मीमा निसास्सिएर र वर्षामा रुझेर रात काट्नुपर्ने प्रहरीको दुर्दशाले सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पारेको सहजै अनुमान लगाउन सकिन्छ । सुरक्षा दिने प्रहरी आफैं असुरक्षित र शरणार्थीको जस्तो जीवन बिताउनपरेको उनीहरु गुनासो छ ।

सबैभन्दा आकर्षक मन्त्रालय मानिने गृहमन्त्रालयमा आउन मन्त्रीदेखि सचिवसम्मको प्रतिस्पर्धा हुने गरे पनि गृहअन्तर्गतकै काठमाडौँ प्रहरीको स्थानान्तरण भने त्यहाँ जिम्मेवारी सम्हाल्न आउनेको प्राथमिकतामा पर्न सकेको छैन ।

 प्रहरीले नेट्रेलिको सिंहदरबार अगाडि रामशाहपथमा रहेको २६ रोपनी जग्गा किन्न वा भाडामा लिन सके राम्रो हुने सुझाव गृहमन्त्रालयलाई दिइसकेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।

गृह प्रवक्ता यादव कोइरालाले काठमाडौँ जिल्ला सुरक्षा समितिले सो जग्गा किन्नका लागि निर्णय गरेर ल्याएमा मन्त्रालय किन्ने प्रक्रिया अगाडि बढाउन तयार रहेको प्रतिक्रिया दिए ।

 सो क्षेत्रको सरकारी दर प्रतिआना रु ४० लाख रहेकाले सो जग्गा किन्न करिब रु एक अर्ब ७२ करोड लाग्नेछ । राजधानीको सुरक्षाको कुरा पैसासँग दाँज्न नहुने भएकाले अल्पकालीन रुपमा भाडामा लिनुभन्दा दीर्घकालकै लागि सो जग्गा किन्नुपर्ने प्रहरीको भनाइ छ ।

 काठमाडौँका प्रजिअ रामकृण सुवेदीले सो जग्गा भाडामा लिन आफूले प्रयास गरेको भएपनि नेट्रेलिले जग्गा भाडामा दिने भन्दा बेच्ने प्रस्ताव राखेकाले सहमति हुन नसकेको बताए । कर्मचारीलाई लामो समयदेखि मासिक तलबसमेत खुवाउन कठिनाइ झेल्दै आएका कारण नेट्रेलि सो जग्गा बेचेर आफ्नो आर्थिक अवस्था बलियो बनाउने सोचमा छ ।

 आफूलाई जग्गा किन्ने भन्दा भाडामा लिने मात्रै अधिकार रहेकाले जग्गा किन्ने भए प्रहरी प्रधान कार्यालयले संस्थागत रुपमै गृह मन्त्रालयमा प्रस्ताव पठाउनु उपयुक्त हुने प्रजिअ सुवेदीको भनाइ छ ।

रामशाहपथको सो जग्गामा नेपाल टेलिकमले समेत आँखा लगाएको छ । टेलिकमले रु ६० देखि ७० लाखसम्म प्रतिआनामा जग्गा किन्न तयार रहेको प्रस्ताव ल्याएको  महाप्रबन्धक मेहताले जानकारी दिए ।

 उनले भने, “प्रहरीले जग्गा हामीलाई दिनु, पैसा अर्थ मन्त्रालयले दिन्छ भन्छ ।  हामी बेच्न तयार छौं, उहाँहरुले किन्ने भए मन्त्रिपरिषद्बाट निर्णय गराएर आउनुपर्यो ।”

 भूकम्पका कारण कालीमाटी, भण्डारखर्क, स्युचाटार, बाफललगायतका स्थानका प्रहरी कार्यालयहरु पूर्ण क्षति भएका संरचनामा प्रहरीले राखेको छ । रामशाहपथमा रहेको ट्राफिक प्रहरीको ब्यारेक भवन, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरको ब्यारेक भवन र नेपाल प्रहरी स्कुल सामाखुशी पूर्ण रुपमा क्षतिग्रस्त संरचनाको सूचीमा समावेश छन् ।

 त्रिपालको बासले बिमारी हुने प्रहरी बढे

 परिसरमा कार्यरत तल्लो तहका अधिकांश प्रहरीले सुत्नका लागि कार्यालयको खाली जग्गामा राखिएको त्रिपालमै भर पर्नु परिरहेका छन् । गर्मी, वर्षा र शीतलहर झेल्नपर्दा अधिकांश प्रहरी कार्यालयमा रहेका त्रिपाल च्यातिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

 वर्षामा पानी चुहेर, चिसोमा सिरेटोले र रातपरेपछि सर्प, कीराले सताउने गरेको प्रहरी बताउँछन् । अव्यवस्थित बसाइका कारण रुघा, खोकी, दमजस्ता समस्या राजधानीमा कार्यरत प्रहरीमा बढ्दै गएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

 त्रिपालमै बस्नुपर्ने बाध्यताले कतिपय प्रहरीले छुट्टै कोठा भाडामा लिएर समेत बस्न थालेका छन् । परिसरका २५० प्रहरीका लागि एउटा मात्रै शोचालय हुँदा बिहानको समयमा शौचालय जानेले दुई घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ । एक प्रहरी भन्छन् – “बरु दुई घण्टा ढिलो खाँदा केही हुँदैन तर शौचालय जान दुई घण्टा कुर्नु जस्तो सजाय अरु केही नहुँदो रहेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता