मङ्सिर २६, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए ।
क्वाटरफाइनलमा मोरक्कोसँग पराजित पोर्चुगलले हारे पनि रोनाल्डोप्रति समर्थन र संवेदना विश्वभरबाट मानिसहरुले देखाइरहेका छन् ।
यहीबीच भारतीय क्रिकेटर विराट कोहलीले पनि रोनाल्डोका लागि एक भावुक पोस्ट लेखेका छन् ।
‘कुनै पनि ट्रफी तथा टाइटलले रोनाल्डोबाट यो छिन्न सक्दैन जुन तपाईंले खेलबाट विश्वभरका प्रशंसकहरुलाई दिएका छौ, कुनै पनि उपाधिले यो बताउन सक्दैन कि तपाईंले मानिसको जीवनमा कस्तो प्रभाव छोड्नु भएको छ,’ विराटले लेखेका छन्, ‘यो भगवानबाट मिलेको एउटा पुरस्कार हो, यो एउटा आशीर्वाद हो र कठिन परिश्रम तथा समर्पणको प्रतीक हो । तपाईं जो कोही खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ, मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’
स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको कारण पोर्चुगलको टोलीको आलोचना भइरहेको छ । उनले क्वार्टरफाइनलमा मोरक्कोविरुद्धको पहिलो हाफमा पनि खेलेनन् तर दोस्रो हाफमा मैदानमा उत्रिएका थिए ।पोर्चुगल हार्दा रोनाल्डो मैदानमा भावुक देखिन्थे ।