पढ्न करिब 2 मिनेट लाग्छ

पुस १३, पर्सा | गत मंसिर ५ गते अपहरित वीरगन्ज-२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निरजकुमार पासवानको अपहरणपछि हत्या भएको थियो । उनको अपहरण र हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल दिलीपप्रसाद पटेलसहितको समूहले गरेको प्रहरीले दाबी गरेको छ ।

निरजको हत्याको आरोपमा पर्सा धोबिनी गाउँपालिका १ का ३० वर्षीय दिलीपप्रसाद पटेल र वीरगन्ज-१७ अलौका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादवलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । दिलीप निरज पढ्ने गुरुकुल पन्ना मेमोरियल इङ्ग्लिस स्कुलका गणित विषयका शिक्षकसमेत हुन् ।

कक्षा ८ मा अध्ययनरत बालक निरज मंसिर ५ गते दिउँसो २ बजे अपहरणमा परेका थिए । निरजको शव पुस १० गते साँझ ५ बजे वीरगन्ज-२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल स्कुलको पुरानो भवन अगाडि सेप्टिक ट्यांकीभित्रबाट प्रहरीले सडेगलेको अवस्थामा फेला पारेको थियो । मृतक बालकको पहिचान उनको कपडाबाट भएको थियो ।

अपहरणपछि आरोपिहरूले अपहरित बालक निरजकुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर राखेका थिए । बालकले सोही दिन आफूलाई बाँधिएको डोरी फुकाई भाग्न खोज्दा अपहरणकारीले आफ्नो पहिचान खुल्न सक्ने डरले बालकको हत्या गरेको देखिन आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

प्रहरीले उनीहरूको साथबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिमकार्डसहितको १ थान मोबाइल, मृतक बालकको निलो रंगको जिन्स पाइन्ट, खैरो रंगको पेटीसमेत बरामद गरेको छ ।

बालकका बुबा श्रीराम हजरा दुसादसँग अपहरणकारीले टेलिफोनबाट फिरौती माग गरे पनि लिन नपाएको डीएसपी गिरीले बताए । ‘अपहरण परेलगत्तै बालक भाग्न खोज्यो,’ उनले भने, ‘अनि आफ्नो पहिचान खुल्ने डरले शिक्षक र उनका सहयोगी भई बालकको हत्या गरे ।’ घटनामा संलग्न अर्का एकको खोजी प्रहरीले गरिरहेको छ ।

बालकका बुबा श्रीरामको आर्थिक अवस्था खासै बलियो नरहेको तर हाल एकीकृत सुरक्षा जाँच चौकीले अधिग्रहण गरिरहेको जग्गामा उनको पनि जग्गा परेको र उनले ठूलो रकम मुआब्जा पाएको हल्ला चलेपछि सोही रकमको लोभले बालकको अपहरण गरिएको हुन सक्ने डीएसपी गिरीले बताए ।