2026-10-31 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

माघ २०, कपिलवस्तु | कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो ।

घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भन्नुभयो ।

सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उहाँ सुनाउनुहुन्छ । “जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उहाँले भन्नुभयो ।

लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उहाँले व्यवसाय सञ्चालन गर्नुभएको छ । सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उहाँ एक्लैले चलाउनुभएको छ । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे”, उहाँले भन्नुभयो, “अहिले एक्लै उद्योग चलाएकी छु ।”

सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उहाँले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उहाँले मेसिनसमेत खरिद गर्नुभएको छ ।

पूर्व वडासदस्यसमेत रहेर काम गर्नुभएकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताउनुभयो । “गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते”, उहाँले विगत सुनाउँदै भन्नुभयो, “दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।”

पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उहाँ आफैँ दङ्ग हुनुहुन्छ । विशेषगरी उहाँले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आउनुभएको छ । एक सय पातको रु ४० दिने गरेको उहाँले बताउनुभयो । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उहाँले बताउनुभयो । आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । 

“स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना–टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । 

बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उहाँको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उहाँले बाणगङ्गा नगरभित्र रहेका दुना–टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ