प्रकाशचन्द्र बुढाऐर – स्ववियु निर्वाचनको ३८ बर्षेे इतिहासमा पहिलो पटक नयाँ अभ्यास हुदैछ, फागुन १४ गतेका लागि तोकिएको समयसिमा भित्र । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचनको मितिमा अहिले भने पहिलेको जस्तो क्रेज र तडक भडक देखिएको छैन् । स्ववियु निर्वाचनको नयाँ अभ्यास तय भएसंगै देशभरिका त्रिवि अन्तर्गतका क्याम्पसहरूमा चुनावी माहोल विस्तारै बनिरहेको छ, खासै चुनावी चटारो लागेको जस्तो देखिदैन् तर, विद्यार्थी नेताहरू जोडतोडले आफू निकटतम दल तथा भातृ सङगठनका वरिष्टतम नेताहरुको भ्वाइस लिने दिने अभियानमा समर्पित देखिन्छन् । यस पटकको निर्वाचनमा विश्वविद्यालयले सवै संकायबाट प्रमाण पत्र तह फेज आउट गरिसकेको छ भने, नितान्त स्थानिय र आम निर्वाचनमा मतदानका लागि योग्य युवाको अभिमत सहितको स्ववियुको जन्म हुदैछ । त्यस्तै मिश्रित निर्वाचन प्रणाली र उमेरको हदबन्दीले स्ववियुमा नयाँ उर्जा देखिनेछ ।
भविष्यमा देशको नेता यसै निर्वाचनबाट प्राप्त हुने भएकोले स्ववियु निर्वाचन राष्ट्रको भविष्यका लागि महत्वपूर्ण निर्वाचन हो । विद्यार्थी नेताहरूले विद्यार्थीवर्गको हकअधिकार तथा समस्यालाई सम्बन्धित निकायबाट समाधान गराइ तिनीहरूलाई दक्ष बनाउनमा सहयोग गर्नुपर्छ । तर विद्यार्थी नेताहरू आफ्नो कर्तव्यलाई बेवास्ता गर्दै आफूहरू आबद्ध दलको कार्यकर्ता भई आतङ्क मच्चाइरहेका उदाहरण पनि देखिन्छन् भने प्राय संगठनका नेताहरु आफ्नो स्वार्थपुर्ती गर्न या निर्वाचनका मुखमा मात्रै विद्यार्थीहरुलाई विचलित गरि पदको लोभ चाख्न खोज्दछन् ।
कुनै भोज भतेर र पैसाको मोलमोलाई गरेर स्ववियू हात पार्न कल्पना भन्दा बाहिरका कुराहरु हुन र हिजोअस्तिको जस्तो आधि उमेर ढल्केकाहरुको आकांक्षालाई उमेर हदले रोकेका कारण पनि यो स्ववियु निर्वाचनमा कठिनाईहरु पार उसै पनि भएका छन्, तथापी उमेर हदले रोकेकै कारण उनीहरुलाई सम्मान नै दिनुहुदैन् भन्ने पक्षमा रहनुहुदैन्, सिद्दान्त र विद्यार्थीको हकहितका लागि योगदान गरेकाहरुको कदर गर्नु नयाँ पिडीको दायित्व हुन्छ ।
कुनै समय राजनीतिक दाउपेचमा पद कव्जा गर्नकै निमित्त फर्जी विद्यार्थी बटुलेर निर्वाचित भएकाहरुको पुर्वाग्रही सोचको चासोलाई यस पटक त्रिविले दमन गरेपछि नयाँ पुस्तालाई नयाँ जोस, उमंग र राहत अवश्य भएको छ । यसकारण पनि उहिले उहिलेको जस्तो टाउको फुटाउने र मारकाट गर्ने स्थितिमा अहिलेको स्ववियु निर्वाचन हुने छैन् आकलन गर्न सकिन्छ । अर्काे कुरा मुलुक लागातार तीन तहका निर्वाचनको सेटिङ गरिरहेको बेला स्ववियु निर्वाचन सेफ लेण्डिङ गर्नमा सवैको चासो उत्तिकै हुनुपर्दछ ।
स्ववियु चुनावको नयाँ अभ्यासमा भोटिङ राईट बाहेक स्ववियू पदादिकारीमा उमेद्वारी जो कोही उमेर समूहको दावी शुन्यमा पुगेको छ । विगतमा उमेरको हदबन्दी नलाग्दाखेरी त्यहाँ गैर विद्यार्थीहरु बढी हाबी हुने देखिन्थ्यो । नाममात्रका विद्यार्थी भएपछि स्ववियुबाट नै आफ्नो आर्थिक उपार्जन गर्ने हुँदा स्ववियु र विश्वविद्यालयलाई पनि ठूलो भार परेको र स्ववियुको निम्ति भनेर पढाइ सकिएपछि पनि दसौँ वर्ष सभापतिका लागि वा पदाधिकारीका लागि भन्दै कुरेर बस्ने चलन अव किनार लागेको छ । अब मात्रै बास्तविक विद्यार्थीको प्रतिनिधि आउनेछ र यसो हुँदा मात्र स्ववियुलाई बास्तविक र फ्रेस विद्यार्थीहरुको प्रतिनिधित्व रहने संस्था बनाउन सकिन्छ ।
सरकार भित्र र सरकार बाहिरको जोडघटाउले स्ववियुमा सम्वन्ध नराख्ने भएपनि विद्यार्थी विचारका विचमा गणितिय प्रभाव त जमाउछ नै । क्याम्पसहरुमा प्रमुख तीन दलकै विद्यार्थी संगठनहरुका विचमा रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । यतिबेला तत्कालिन युद्धताका बलबाट लिएको डरलाग्दो रुपको क्रान्तिकारी विद्यार्थी संगठन माओ पार्टीको चिरासंगै तहस नहस अवस्थामा भग्नावशेष सम्हालिरहेको छ । तत्कालिन ०६५ सालको स्ववियु निर्वाचनमा लिएको स्थान कुनै पनि हालतमा अब अखिल क्रान्तिकारीले लिन सक्दैन्, कि कम्तिमा उसका चार चार वटा त चिरै भइसकेको अवस्था हो । संक्षेपमा आकलन गर्ने हो भने माओवादीको जनाधार कमजोर र क्षय हुदै जानुको प्रत्यक्ष असरको पहिलो उदाहरण उसका लागि स्ववियु चुनावमा बन्नसक्छ । तथापी देशका १५ क्याम्पसमा हात लागेको पुर्वशक्तिलाई मात्रै भएपनि कायम राख्नका लागि युद्धरत चुनौतीको सामना गर्न अखिल क्रान्तिकारी हरहातल लागि पर्ने उसका संगठनका नेताहरुको अडि हुनेछ । तर त्यो सम्भावना न्युन देखिन्छ ।
उता माओवादी फुटले पारेको असरले भन्दा ठूलो विषालु र डरलाग्दो रुप ऐमाले समर्थित अनेरास्ववियुमा पाइन्छ । उसलाई माओ नेताका कालो र गोरो मन छुट्याउनै हम्मे हम्मे देखिन्छ । बाह्य शक्ति खिच्ने दाउमा रहेको भएपनि अनेरास्ववियूमा अन्तरघातले तहल्का मच्चाइरहेको छ । स्ववियुका लागि उमेरहदले यो संगठनलाई धक्का त दिएको छ नै, यसमा थप पार्टी भित्रको चरम गुट उपगुट र उमेद्वार बन्न लायकका अनुहारको बहिर्गमनले अनेरास्ववियूलाई आफैसंग डरिरहेको अवस्था हो । तथापी पुरानो २६ क्याम्पसको शक्ति संचय गरि थप शक्ति निर्माण गर्नु उसको लक्ष्य देखिन्छ भने अखिल देखी अखिल डराएको छ ।
स्ववियूको झण्डै आठ बर्ष पछि दशहरा लागेको छ, तर नेपाल विद्यार्थी संघको नौ बर्षपछि भएको यस्तै एउटा पर्व ११ औ महाधिवेशन सकिएको छ, जसबाट उसले धेरै पाठहरु सिकेको छ । ने वि संघ आफैमा जनमतको कमजोर संगठन होइन्, तर उसका पनि केही चर्चित अनुहारलाई हदबन्दी लाग्ने भएकै कारण नैरश्यताको बादल अवश्य लागेको छ । तर नेवि संघको स्ववियु चुनाव जित्ने आधार संगठन देखिदैन यसमा उसको सामुहिक लिडरसिप गर्ने नेताहरुको हात हो । यसकारण सामूहिक नेतृत्व र विवादरहित नेतृत्व हाक्ने गरि योजनाबद्ध रुपमा नेवि संघ स्ववियू हात पार्नका लागि विद्यार्थी नेताहरु आन्तरिक होमवर्कमा व्यस्त देखिएका छन् । जसलाई नेवि संघले निराशालाई शक्तिमा बदल्न चाहन्छ ।
त्रिविका ६० ओटा आंगिक र कतिपय सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैछ । जहाँ लाखौं विद्यार्थीहरुको अभिमत हुनेछ । स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुको मतले स्ववियु निर्वाचित त गर्छ नै, यसले आगामी आम चुनावको प्रारम्भिक मत सर्भेक्षणमा पनि दबदवा राख्नेमा दुईमत छैन् । यता नेपालको संविधान २०७२ कार्यान्वयनको चरणमा दगुरिरहदाँ विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनमा आफ्नो हैसियत बलियो बनाएर माउ पार्टीहरुलाई स्थानिय निकाय लगायत तीन ओटै तहको चुनावका लागि उत्साहित बनाउने दाउमा छन्, राजनीतिको यस्तो संघारमा अहिलेको स्ववियु निर्वाचन पार्टीको अस्तित्व जोगाउने र क्रेडिट लिने गरि स्वभाविक रुपमा महत्वाकांक्षी हुनेछ ।
पञ्चायत कालमा विद्यार्थी आन्दोलन राजनीतिक आन्दोलनको दर्पण थियो । नेपालको परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलनको योगदान महत्वपूर्ण छ । आजका राष्ट्रिय नेताहरु विद्यार्थी आन्दोलनकै जगबाट पैदा भएका हुन् । यसकारण आगामी आम निर्वाचनअगाडि हुन लागेको स्ववियु निर्वाचनलाई सम्पूर्ण दलले परीक्षण निर्वाचनको रूपमा हेरिरहेका छन् । स्ववियु इमान्दारीता र छलकपट विना युवा मतदाताहरुको मनोविज्ञान नाप्ने एक्लो आधार हो । जसले राजनीतिक दलहरुलाई सम्बन्धित क्षेत्रमा आफ्नो हैसियत ख्याल आउनेछ । यसले केही हदसम्म आम निर्वाचनको आधारशिलाहरु तय गर्ने भएकोले क्याम्पस लेवलका विद्यार्थीहरुमा पार्टीको मनोबैज्ञानिक असरको प्रभाव प्रगाढ रहनेछ, भने राजनीतिक दलहरुले आफ्नो जनमतको प्रारम्भिक प्रक्षेपण गर्नेछन् । देशको बागडोर सम्हाल्ने नेता उत्पादन गर्ने साझा थलो भएकै कारण पनि स्ववियू निर्वाचनलाई विशेष नजर गरिएको हुन्छ ।
जे सुकै होस्, नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिवि भएपनि विगत लामो समयदेखि विश्वविद्यालय उकालो लाग्नुको सट्टा ओरालो लागिरहेको छ । बर्सेनी करोडौं रुपैयाँभन्दा बढी लगानी बालुवामा पानी हाले जस्तै खेर गइरहेको छ । फलस्वरूप त्रिविलाई विश्व समुदायले नकारात्मक दृष्टिकोणले हेर्न थालेको छ । यसका केही नकारात्मक पक्षहरू छन् । जस्तै पुरानो पाठ्यक्रम पढाउनु, व्यवस्थापन पक्ष फितलो हुनु, समयमा परीक्षा नहुनु, परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु, परीक्षाफल समयमा प्रकाशित नहुनु, दलीय भागबन्डामा प्राध्यापक र कर्मचारी नियुक्ति गर्नु, नियमित कक्षा सञ्चालन नगर्नु आदि । त्यस्तै प्राध्यापकहरू क्याम्पसमा राजनीतिक गरिरहेका हुन्छन्, गुट उपगुटमा विभाजित भइरहेका देखिन्छन् मानौं कि तिनीहरू प्राध्यापक नभई दलका कार्यकर्ता हुन् । परिणामस्वरूप विद्यार्थीहरू परीक्षा उत्तीर्ण गर्न चिट चोर्न बाध्य हुन्छन् र त्रिविलाई राजनीतिको आखडामा परिणत गरी बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा स्थापित हुँदै गइरहेको छ । त्यस कारण देशका विद्यार्थीहरू गुणस्तरीय शिक्षा लिनको लागि भारतलगायत विदेशी मुलुक पलायन हुन बाध्य छन् । स्ववियु निर्वाचनसँगै विद्यार्थीहरू यस्ता समस्याहरू समाधान हुन्छन् भन्ने आशामा छन ्।