2026-11-01 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ई-सिम तपाईँको मोबाइलमा राख्न मिल्छ कि मिल्दैन? यस्तो छ थाहा पाउने उपाय

असोज ४, काठमाडौँ | नेपाल टेलिकमले ई-सिम अर्थात् इम्बेडेड सिमको माग बढेको भन्दै मङ्गलवारदेखि विभिन्न नौ स्थानबाट त्यसको वितरण गर्न थालिएको बताएको छ। टेलिकमले भदौ ३१ गतेदेखि ई-सिम (इम्बेडेड सिम) वितरण गर्न थालेको थियो।

अब सुन्धारासहित ठिमी, चाबहिल, पुल्चोक र छाउनीका काउन्टरबाट पनि ई-सिम लिन सकिने टेलिकमले जनाएको छ।

वितरण हुन सुरु भएपछि दुई दिनमा सुन्धारास्थित टेलिकम कार्यालयबाट झन्डै ४०० प्रयोगकर्ताले ई-सिम सेवा लिएको सहप्रवक्ता रञ्जित लोहियाले बताए। पहिलो दिन जम्मा ५० जना मात्रै ग्राहक आएको उनले बताए।

ग्राहकहरूले ई-सिम सपोर्ट नगर्ने मोबाइल फोन पनि लिएर आएका कारण त्यसबारे पहिल्यै जाँच गरेर मात्रै आउन उनले अनुरोध गरेका छन्।

पछिल्लो समय बजारमा आएका धेरै मोबाइल सेटमा ई-सिमको सेवा लिन सकिन्छ। त्यसबारे उपभोक्ता आफैँले निर्क्योल गर्न सक्ने उनले बताए।

“आफ्नो मोबाइलमा *#06# डायल गर्दा एउटा डिस्प्ले आउँछ। त्यसमा ईआईडी अनि नम्बरहरू देखायो भने त्यो फोनमा ई-सिम सेवा लिन सकिन्छ भनेर ग्राहकले बुझ्न जरुरी छ। नभए धेरै ग्राहकले दु:ख मात्रै पाउने काम हुन्छ,” उनले भने।

ई-सिम के हो?

फोनमा अहिलेसम्म प्रयोग हुँदै आएको सेवाप्रदायकले दिने भौतिक सिमको सट्टा इम्बेडेड सिम अर्थात् ई-सिम प्रयोग गर्न सकिन्छ। यसलाई डिजिटल सिम पनि भनिन्छ।

ई-सिमबाट फोन गर्ने र इन्टरनेटका लागि डेटा चलाउने जस्ता काम गर्न सकिन्छ।

“इम्बेडेड सिम भनेको मोबाइलभित्रै बनेर आएको सिम हो। छुट्टै भौतिक सिम राख्न नपर्ने र नयाँ मोबाइल सेटभित्रै भौतिक रूपमै भित्रै बनेर आएको सिम कार्ड भनेर बुझ्नुपर्छ,” सहप्रवक्ता लोहियाले भने।

प्रविधिमा आएका नयाँनयाँ परिवर्तनसँगै आफूलाई पनि परिमार्जन गर्न भन्दै नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण सुरु गरेको हो।

मोबाइल फोनमा मात्रै प्रयोग गर्न सकिने हो?

“ई-सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्दैन। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ,” टेलिकमले आफ्नो विज्ञप्तिमा भनेको छ।

टेलिकमका अनुसार पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले नि:शुल्क ई-सिम लिन सक्नेछन्।

तर पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्नेछन्। प्रिपेडको नयाँ ई-सिम लिन चाहनेले भने केही समय कुर्नुपर्ने टेलिकमले जनाएको छ।

ई-सिम लिनका लागि ग्राहकले फोटो भएको परिचयपत्र लिएर आफैँ जानुपर्ने र त्यसका लागि १० मिनेटजति समय लाग्ने बताइएको छ।

ई-सिमका फाइदा के छन्?

भौतिक सिमकार्ड खोज्न कतै जानु नपर्ने नै यसको फाइदा भएको टेलिकमले जनाएको छ।

“सामान्यतया मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको हामीलाई सेवा लिन मन छ, उनीहरूकोमा आफ्नो केवाईसी (नो योर कस्टमर) अद्यावधिक गराएर सिम प्रोफाइल अप्डेट गराए मात्रै पुग्छ। यसको मुख्य फाइदा त्यही हो,” सहप्रवक्ता लोहियाले भने।

त्यसबाहेक नेपालमा धेरै ग्राहकले नेपाल टेलिकम र एनसेलको सिम लिने हुँदा अब टेलिकमको ई-सिम र एनसेलको भौतिक सिम एउटै मोबाइल सेटमा प्रयोग गर्न पाउनु अर्को फाइदा भएको बताइन्छ।

यसका लागि अझै सहज होस् भनेर अनलाइन सुविधामार्फत नै ई-सिम दिने काम केही समयमा हुने लोहियाले बताए।

ग्राहकहरू बाहिरबाट आउँदा उनीहरूलाई काउन्टर धाइरहने झन्झट नहोस्, अनलाइन संयन्त्रबाटै ई-सिमको सुविधा लिन सकियोस् भनेर त्यसो गर्न लागिएको उनले बताए।

एउटै मोबाइल सेटमा धेरै सिम राख्न मिल्ने हो?

एउटा मोबाइल सेटमा कतिवटा सम्म सिम राख्न मिल्छ भन्ने मोबाइल सेटमा भर पर्छ।

तर आफ्नो जानकारीअनुसार एउटामा आठवटासम्म ई-सिम राख्न सकिने सहप्रवक्ता लोहियाले बताए।

“सिम राख्दा मल्टी-अपरेटर सपोर्ट गर्छ तर चल्ने बेलामा वन एट अ टाइम (एक पटकमा एउटा) सपोर्ट गर्छ,” उनले भने, “एनटीसीकै प्रिपेड र पोस्टपेड पनि राख्न मिल्यो।”

यसरी एउटै फोनमा एउटाभन्दा बढी ई-सिम राखे पनि कल वा डेटाको गुणस्तरमा कुनै फरक नपर्ने उनको दाबी छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द