पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् ।

मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।

उहाँले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गर्नुभएको छ । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उहाँले भन्नुभयो ।

अहिले उहाँले रु ३० लाख लगानी गर्नुभएको छ । किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उहाँले मासु बिक्री गर्दैआउनुभएको छ । “आफैँ मालिक र कामदार भएर काम गर्दैआएको छु,” उहाँले भन्नुभयो ।

घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गर्नुभएका उहाँले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाउनुभएको छ । आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उहाँको ठम्याइ छ ।

सरकारी सहयोग सुगम क्षेत्रमा मात्र केन्द्रित भएको उहाँको आरोप छ । ग्रामीण क्षेत्रका खेर गएका खेतबारीबाटै पर्याप्त आम्दानी गर्न सक्ने सम्भावना छ । उहाँले गाउँकै अन्य किसानलाई समेत आवश्यक सहयोग गर्दैआउनुभएको छ । रासस