पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर २०, दाङ । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१/७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।

त्यसैगरी गत आव २०७२÷७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव २०७३÷७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७१० गोलाबाट ६६ दशमलब ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताउनुभयो ।

जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५३२ वटा आधुनिक घार र दुई हजार १७८ स्थानीय जातका माहुरीका घार रहेका छन् । कृषि विकास कार्यालयका अनुसार यस वर्ष उन्नत जातको माहुरी प्रतिगोलाबाट छ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १.५ किलो मह उत्पादन भएको छ ।

जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरु उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो फूल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने बस्नेतको भनाइ छ ।

माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । हाल यहाँ उन्नत जातको मह प्रतिकिलो रु ३०० र स्थानीय माहुरीको मह प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । यहाँको मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गर्दछ । रासस