2026-06-27 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ गर्दै म्याग्दीका किसान

2018-03-12

फागुन २८, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । 

माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा बेचेरै वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । 

“साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिए” खड्काले भन्नुभयो “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचे । घर व्यवहार र छोराछोरीको पढाई खर्च धानिएको छ ।” 

राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि आठ वर्षसम्म इराक, साउदी, मलेसियामा भौतारिएका खड्काका श्रीमान् गणेश पनि घर फर्किएर बाख्रापालनमै लागेका छन् । बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पतीले तीन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा’ फार्ममा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् । 

घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । “खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, ग्राहक घरमै आउँछन्” गणेशले भन्नुभयो “सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट विदेशमा भन्दा राम्रो भएको छ ।” 

बाख्रापालनबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन सजिलो तथा दुई, चार हजार आवश्यक पर्दा महँगोमा ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य भएकोमा खड्काले खुशी व्यक्त गर्नुभयो । 

गरिबी निवारण कोषको सहयोगमा गाउँमा गठन भएको जलेश्वर सामुदायिक संस्थाबाट हालै रु ४० हजार ऋण लिएर तीन माउ बाख्रा थपेको खड्काले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका गमबहादुर गर्बुजाले पनि विदेश जाने योजना त्यागेर बाख्रापालन शुरु गर्नुभएको छ । दुई वर्षअघि चार पाठा ल्याएर शुरु गरेको गर्बुजाको फार्ममा अहिले ४६ वटा बाख्रा छन् । 

स्थानीय दोसल्ले प्रगतिशील सामुदायिक संस्थाबाट सहुलियत ब्याजदरमा लिएको रु ३४ हजार र व्यक्तिगत रु एक लाख १० हजार लगेर २२ वटा बाख्रा खरिद गर्नुका साथै खोर निर्माण गरेको गर्बुजाले बताउनुभयो । 

खड्का र गर्बुजाजस्तै म्याग्दीको ग्रामीण क्षेत्रमा गरिब विपन्न समुदाय बाख्रापालनबाट आत्मनिर्भर र स्वरोजगार बनेका छन् । गरिबी निवारण कोषको सहयोगमा सामुदायिक संस्थामा स्थापित घुम्ती कोषबाट सहुलियत ब्याजदरमा बिना धितो उपलब्ध गराइने ऋण बाख्रा, कुखुरापालन, घरेलु उद्यम गर्नेका लागि सहयोगी बनेको छ । 

संगम म्याग्दीद्वारा म्याग्दीका १० वटा वडामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत गठन भएका ८१ वटा सामुदायिक संस्थाले ८२२ घरधुरी विपन्नलाई रु तीन करोड ३७ लाख ४२ हजार ५४६ ऋण लगानी गरेका छन् । 

बिना धितो ऋण उपलब्ध गराइने भएकाले बैंक, वित्तीय संस्थाको पहुँचमा नरहेका दुर्गम ग्रामीण क्षेत्रका विपन्नका लागि घुम्तीकोष वरदान बनेको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी